मेलबर्न । बडा दशै २०८० को अवसरमा अस्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी)ले भिक्टोरियामा पण्डित दिनबन्धु पोखरेलको उपस्थितिमा नवाह ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ ।
शनिवार अस्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी) को परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा (एएनएमसी) का अध्यक्ष गान्धीप्रसाद भट्टराईले भिक्टोरियामा छरिएर रहेका नेपालीहरूलाई जोड्नका लागि दसैँको अवसरमा महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले मन्दिर परिसरमा दशैको नौ दिन सम्म चल्ने महायज्ञमा सहभागी भएर आफ्नै बहु सांस्कृतिक केन्द्रमा दसैँ मनाउन भिक्टोरियावासी नेपाली तथा नेपाली भाषीहरूलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष गान्धीप्रसाद भट्टराईले निःशुल्क जमरा वितरणको यसअघिको कार्यक्रमलाई निरन्तरता दिइने र यस पटक दशमीका दिन मन्दिरमा नै टिका लगाउने व्यवस्था समेत गरिने जानकारी दिनुभएको छ । आगामी अक्टोबर १५ देखि २४ तारिखसम्म आयोजना हुने यस धार्मिक अनुष्ठानको नेतृत्व पण्डित दिनबन्धु पोखरेलले गर्नुहुने भएको छ ।
“अक्टोबर १५ देखि सुरु हुने मेलबर्न सप्ताहको दोस्रो संस्करणको मुख्य उद्देश्य कम्तीमा एक पटक भए पनि भिक्टोरियामा बसोबास गर्ने नेपालीहरू आफ्नै मन्दिर परिसरमा मा आउन् भन्ने नै हो”, एएनएमसीका सह कोषाध्यक्ष एवं मेलबर्न सप्ताहका संयोजक अनन्त पौडेलको भनाई छ ।
पत्रकार सम्मेलनमा अनलाइन र प्रत्यक्ष रूपमा सहभागी भएका पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै सचिव डा. तिलक पोखरेलले १५ अक्टोबरमा कलश यात्राका साथ महायज्ञ सुरु हुने जानकारी दिए । अन्य दिन सोमबारदेखि शुक्र बारसम्म दिउँसो ४ बजेदेखि राति ८ः३० बजेसम्म, शनिवार र आइतबार दिउँसो २ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथा वाचन गरिनेछ । आरती हरेक दिन साँझ ७ः३० बजे गर्ने योजना छ ।
महायज्ञको समापन विजया दशमीको दिन अक्टोबर २४ मा टीका जमरा सहित गरिनेछ भने अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहु सांस्कृतिक मन्त्रीका साथै अन्य अतिथिहरूको उपस्थितिमा नवनिर्मित संरचनाहरूको उद्घाटन गरिनेछ ।
भिक्टोरिया राज्य सरकारको अनुदानमा हालै मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण, कार्यक्रमहरू गर्नका निम्ति छुट्टै स्टेजसहितको व्यवस्था, परिसरको सुरक्षा व्यवस्थाका लागि सिसिटिभी लगायतको जडान गरिएको थियो । केही समय अघि मन्दिरमा भगवान् पशुपतिनाथ, गणेश र दुर्गा भवानीको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न गरिएको थियो । यस्तै भगवान् गौतम बुद्धको मूर्ति स्थापना गरी यसलाई ध्यान केन्द्र समेत सञ्चालन गरिएको छ ।
पत्रकार सम्मेलनमा अस्ट्रेलियन नेप्लीज जर्नलिष्ट एसोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, एएनएमसीका सहसचिव शैलेश घिमिरेले अस्ट्रेलियामै पहिलो पटक आफ्नै बहु सांस्कृतिक केन्द्र स्थापना गरी चाडबाड संयुक्त रूपमा मनाउन थाल्नु ऐतिहासिक उपलब्धि भएको र सबै मिलेर सफल बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।