Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न
नेपालआईज
८ फागुन २०८० १०:३८
मेलबर्न। अस्ट्रेलियाको मेलबर्नमा अवस्थित रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान तथा रक्तदान सम्बन्धि वृतचित्र बिमोचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा नियमित रुपमा रक्तदान गरेका रक्तदाताहरुलाई Token of Appreciation Trophy प्रदान गरि सम्मान गरिएको थियो । अष्ट्रेलियन रेडक्रस लाइफ ब्लडमा बिधिबत रुपमा सन २०२१ मा रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिमको नाममा दर्ता भएदेखि विभिन्न समयमा गरि निरन्तर रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । उक्त टिममा हालसम्म १४८ जना रक्तदाताहरु रहेका छन भने हालसम्म १३० जनाले पुर्ण रक्तदान र १९९ जनाले प्लाज्मा दान गरिसकेका छन । अष्ट्रेलियन रेडक्रस लाइफ ब्लडको वेबसाईटमा जनाए अनुसार हालसम्म टिमले ९७८ जना बिरामीको जीवन रक्षा गर्न सफल भईसकेको छ । टिमले सन २०२२ मा लोकल स्पोर्टिङ क्लब च्यालेन्ज प्रोग्राममा सबैभन्दा धेरै प्लाज्मा दान गरेबापत प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो ।
रोयल वेस्टर्न्स क्लबले आयोजना गर्दै आएको रक्तदान कार्यक्रममा मेल्बर्नमा अवस्थित साउथ इष्ट सकर क्लब, मेल्बर्न नेपलिज कम्युनिटी वेस्ट र न्याभ बाल चौतारी वेस्टको सक्रिय सहयोग रहदै आएको छ । 31B Sun Cres, Sunshine मा रहेको तिनकुने रेस्टुरेन्टमा सम्पन्न रक्तदाता सम्मान कार्यक्रममा अष्ट्रेलियन रेडक्रस लाइफ ब्लड, अस्ट्रेलियन इन्टेग्रेटेड फिजियन एसोसिएसन अफ भिक्टोरिया लगायत नेपाली सामाजिक संघ संस्थाहरु साउथ इष्ट सकर क्लब, मेल्बर्न नेपलिज कम्युनिटी वेस्ट, न्याभ बाल चौतारी वेस्ट, एनआरएनए भिक्टोरिया, फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया, नेपलिज एसोसिएसन अफ भिक्टोरिया, दिदीबहिनी समाज भिक्टोरिया, लुम्बिनी कपिलवस्तु डे मुभमेन्ट, अस्ट्रेलिया नेपाल पब्लिक लिंक, अष्ट्रेलियन नेपलिज मल्टिकल्चरर सेन्टर, फार वेस्टर्न नेपलिज सोसाइटी अफ भिक्टोरियाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियन रेडक्रस लाइफ ब्लडका डोनर सेन्टर म्यानेजर याण्डी विलियम्सले क्लबले निरन्तर रक्तदानको आयोजना गरि हजारौं बिरामीहरुको जीवन रक्षा गर्न सफल भएको तारिफ गर्दै नेपाली कम्युनिटीको तर्फबाट राम्रो छाप पार्न सफल भएको बताएकि थिइन् ।उनीले रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिमका सम्पुर्ण रक्तदाताहरुलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेकी थिइन । त्यसैगरि विशिष्ट अतिथि डाक्टर राजु अधिकारी, रोमिका राम, प्रभा श्रेष्ठ, प्रेम उप्रेती, निराजन गौली, हालसम्म ८१ पटक रक्तदान गरिसकेका रोशन उपाध्यायले आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा क्लबका उपाध्यक्ष निर्मला शर्माको संयोजनमा NRNA Earthquake Relief Fund का लागि संकलित जम्मा रकम $७०० NRNA भिक्टोरियाका सचिव ससेंद्र गौतम केसीलाई उपाध्यक्ष शर्माले हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा रक्तदान सम्बन्धि डकुमेन्ट्री रिलिज गरिएको थियो । रोयल वेस्टर्न क्लबको सहकार्य रहेको उक्त डकुमेन्ट्री लाइफ ब्लड टिमका संयोजक समेत रहेका सुशील चालिसेको प्रस्तुति रहेको छ। डकुमेन्ट्रीले रक्तदान सम्बन्धि जानकारीका साथै यस सम्बन्धि बिबिध जिज्ञासाहरुको निरुपण गर्ने प्रयास गरेको छ।
रोयल वेस्टर्न्स क्लबका सचिब तेज कार्कीले संचालन गरेको उक्त कार्यक्रममा क्लबका उपाध्यक्ष निर्मला शर्माले स्वागत मन्तब्य, लाइफ ब्लड टिमका संयोजक सुशील चालिसेले टिमको प्रगति विवरण तथा क्लबका अध्यक्ष रोशन दाहाले धन्यबाद मन्तब्य व्यक्त गरेका थिए। रक्तदाता सम्मान कार्यक्रमलाई RCON HOMES ले स्पन्सर गरेको थियो।