नेपाल फेस्टिभल गर्न पूरै समुदाय एकढिक्का भएर लाग्नुपर्छ – राजु शाक्य

नेपाल फेस्टिभल गर्न पूरै समुदाय एकढिक्का भएर लाग्नुपर्छ – राजु शाक्य
नेपालआईज
२६ माघ २०८१ ११:५२


मेलबर्न – अस्ट्रेलियाको मेलबर्नमा आगामी मार्च १५ तारिख नेपाल फेस्टिभल आयोजना हुँदैछ। गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समितिको आयोजनामा हुने नेपाल फेस्टिभल यहाँका नेपालीहरूका लागि हरेक दुई वर्षमा आउने चाडझैँ बनेको छ। भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूका लागि सहभागी हुनैपर्ने एउटा महत्वपूर्ण इभेन्टका रूपमा नेपाल फेस्टिभल स्थापित हुँदै आएको छ।

नेपाल फेस्टिभलको प्रारम्भिक चरण रोचक छ। यसको इतिहास बुझ्न हामी १७ वर्षअघिको समय अर्थात् सन् २००८ मा फर्किनुपर्छ। अस्ट्रेलियामा पहिलो पटक नेपाल फेस्टिभल सन् २००६ मा सिड्नीमा आयोजना भएको थियो। त्यसपछि नेपालीहरूको संख्याका हिसाबले दोस्रो ठूलो शहर मेलबर्नमा पनि नेपाल फेस्टिभल आयोजना गर्ने योजना बन्यो। यही योजनाको एक महत्वपूर्ण हिस्सा बनेका थिए राजु शाक्य। उनले सन् २०१४ को नेपाल फेस्टिभल संयोजनको कार्यसमेत गरेका थिए।

मार्च २०२५ मा नेपाल फेस्टिभल आयोजनाको सन्दर्भ सुरु गर्दै गर्दा हामीले उनै शाक्यसँग ऐतिहासिक क्षणलाई पुनः स्मरण गर्ने प्रयास गरेका छौँ। मेलबर्नको पहिलो नेपाल फेस्टिभलबारे राजु शाक्य भन्छन्—”सन् २००६ मा सिड्नीमा पहिलो पटक नेपाल फेस्टिभल आयोजना भयो। त्यसपछि हामीले ‘मेलबर्नमा पनि किन गर्न सक्दैनौँ?’ भन्ने सोच्यौँ र सन् २००८ मा नेपाल फेस्टिभल आयोजना गर्ने तयारी गर्यौं। हामीले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा आफ्नो उपस्थिति देखाउनुपर्छ भन्ने सोचका साथ यो निर्णय लिएका थियौँ।

नेपाल फेस्टिभल आयोजनाको योजना त बनायौं, तर त्यो समयको सबैभन्दा ठूलो चुनौती नै आर्थिक व्यवस्थापन थियो। नेपाली व्यवसायहरू अहिले जस्तो धेरै थिएनन्। दर्शक निःशुल्क सहभागी हुने भएकाले टिकट बेच्ने सम्भावना पनि थिएन। दशैँ, तिहारजस्ता चाडहरू विभिन्न टाउनहल वा सभाहलहरूमा मनाउँदै आएका हामीहरूका लागि खुला स्थानमा, त्यो पनि मेलबर्नको मुटु फेडरेशन स्क्वायरमा यति ठूलो इभेन्ट आयोजना गर्ने अनुभव थिएन।

आयोजनाका क्रममा हामीले धेरै सिक्यौं। त्यसबेला इभेन्टका लागि उपयुक्त स्थान खोज्ने, सरकारी निकायहरूसँग पत्राचार गर्ने, अनुमति प्राप्त गर्ने जस्ता कार्यहरू निकै चुनौतीपूर्ण थिए र लामो समय लाग्थ्यो।

जब नेपाल फेस्टिभल सम्पन्न भयो, हामी ढुक्क भयौँ—हामीले गर्न सक्यौं। तर त्योभन्दा पनि ठूलो क्षण थियो जब मेलबर्नको मुटु फेडरेशन स्क्वायरमा नेपाली झन्डा फहराइयो। हाम्रो अनुमानमा करिब पाँच हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको थियो, तर १० हजारभन्दा बढी नेपालीहरू भेला भएका थिए। नेपाली खानाको सुगन्ध फैलिएको थियो, नेपाली संगीत गुञ्जिएको थियो।

कार्यक्रम सकिएपछि पनि धेरै नेपालीहरू झन्डामुनि बसेर भावुक बनेका थिए। नेपाली झन्डा फर्फराइरहेको देख्दा कयौँको आँखा रसाए, कतिपयको आँसु बग्यो। त्यो एकदमै भावनात्मक क्षण थियो। फेडरेशन स्क्वायर व्यवस्थापन कम्पनीले पनि हामीलाई प्रतिक्रिया दिँदै भनेको थियो— “वन अफ द मस्ट भाइब्रेन्ट, डायनामिक इभेन्ट्स इन फेडरेशन स्क्वायर वी एभर ह्याड!”

सन् २००८ को नेपाल फेस्टिभलमा अधिकांश प्रस्तुतिहरू यहीँका कलाकारहरूले दिएका थिए। तर मुख्य आकर्षणका रूपमा ‘एक्स ब्याण्ड’ ले आफ्नो प्रस्तुति दिएको थियो।

मेलबर्नमा पहिलो नेपाल फेस्टिभलको आर्थिक व्यवस्थापनको सन्दर्भमा चन्द्र योन्जनको नाम भुल्न सकिन्न। जब नेपाल फेस्टिभल मेलबर्नमा गर्नुपर्छ भन्ने योजना आयो, उहाँले “ल, भाइ, गर्नु, यदि पैसा पुगेन भने म छु!” भनेर ढाडस दिनुभएको थियो। यद्यपि, त्यस्तो अवस्था आउन भने पाएन। तर उहाँको आश्वासनले हामीलाई ठूलो प्रेरणा दियो।

इभेन्ट कोअर्डिनेटरको भूमिका भनेकै नयाँ विचार ल्याउनु हो। समुदायका सबै पक्षलाई संयोजन गर्नु हो। अहिले सम्झिँदा गर्व लाग्छ—त्यो बेला पूरा समुदाय एकढिक्का भएर आयोजनामा जुटेको थियो। कन्सुलेट अफिसमा नृत्य अभ्यास हुन्थ्यो, कोही खाना खाजा लिएर आइदिन्थे, स्वतःस्फूर्त रूपमा सबैले सहयोग गर्थे। नेपाल फेस्टिभलको तयारीका क्रममा समाज एकताबद्ध थियो।

तर अहिलेको सन्दर्भमा केही नयाँ गर्नुपर्ने आवश्यकता देख्छु। सन् २००८ देखि उही पुरानै ढाँचामा नेपाल फेस्टिभल चलिरहेको छ। सन् २०१४ मा बिहान परेड थपिएको थियो, नेपाल हाउसको अवधारणा आएको थियो। तर समग्र रूपमा हरेक वर्ष उही शैली दोहोरिँदा आकर्षण क्रमशः कम हुँदै जान्छ।

त्यसैले नेपाल फेस्टिभललाई थप रोचक बनाउन नयाँ कार्यक्रमहरू थप्नुपर्छ। समुदायले फेस्टिभल आयोजनामा पूर्ण सहयोग गर्नुपर्छ, र आयोजकहरू पनि कुनै व्यक्तिगत स्वार्थ नराखी “यो मेरो माटोका लागि, मेरो देशका लागि हो” भन्ने सोचका साथ लाग्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर