मेलबर्नमा महाशिवरात्रिको भव्य उत्सव: अस्ट्रेलियन सांसदसहित भक्तजनहरूको उल्लास

मेलबर्नमा महाशिवरात्रिको भव्य उत्सव: अस्ट्रेलियन सांसदसहित भक्तजनहरूको उल्लास
नेपालआईज
१४ फागुन २०८१ ११:२६


अस्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायले महाशिवरात्रि पर्व विशेष उत्साहका साथ मनाएका छन्। अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (ANMC) को आयोजनामा भएको कार्यक्रममा पूजापाठ, भजन-कीर्तन, प्रवचन, र सांस्कृतिक प्रस्तुति सहितको भव्य उत्सव सम्पन्न भयो।

औपचारिक कार्यक्रम र विशिष्ट अतिथिहरूको उपस्थिति

बिहानैदेखि शिवपूजाका लागि भक्तजनहरूको भिड लागेको थियो। व्रतालुहरू पूजापाठपछि भजन-कीर्तनमा सहभागी भएका थिए भने रमाइलो नृत्य-गानले माहोल झन् उल्लासमय बनाएको थियो। त्यहाँको भिडले नेपालकै पशुपतिनाथ मन्दिरको झल्को दिएको सहभागीहरूले बताए।

साँझपख कार्यक्रमलाई औपचारिकता दिँदै ANMC ले महाशिवरात्रिको धार्मिक एवं सांस्कृतिक महत्वबारे विशेष कार्यक्रम आयोजना गर्‍यो। साथै, मेलबर्नमा नेपाली समुदायको बढ्दो उपस्थिति, नेपाली कला-संस्कृतिको प्रवर्द्धन, र ANMC को योगदानबारे स्थानीय सांसद तथा सरोकारवालाहरूसँग छलफल गरिएको थियो।

कार्यक्रममा ANMC का अध्यक्ष डा. तिलक पोखरेलले सबै अतिथि र सहभागीहरूलाई स्वागत तथा धन्यवाद ज्ञापन गरे। प्रमुख अतिथिका रूपमा डा. शेष घलेले मन्तव्य राख्दै नेपाली संस्कृति जगेर्नामा यस्ता कार्यक्रमहरूको महत्वबारे प्रकाश पारे।

सांसद तथा विशिष्ट अतिथिहरूको सहभागिता

कार्यक्रममा भिक्टोरियन सांसदहरू इवान वाल्टर्स, स्टीभ म्याकघी, एवान होल्‍न्ड, तथा कथलीन म्याथ्युज-वार्डले मन्तव्य दिएका थिए। त्यस्तै, संघीय सांसद सैम राए, भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, र भिक्टोरियन बहुसांस्कृतिक परिषद्का अध्यक्ष भिभिएन (भिभ) नुगेनले पनि आफ्नो धारणा राखे।

मेलबर्नमा नेपाली समुदायको उल्लेखनीय उपस्थिति र सक्रिय सहभागिताले महाशिवरात्रिको उल्लासलाई झन् बढाएको देखिन्छ। ANMC को व्यवस्थापनमा सम्पन्न यस कार्यक्रमले नेपाली संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याएको छ।

कार्यक्रमको समापन साँझ आरतीसहित गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर