मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाका विभिन्न राज्य समितिहरूको आयोजनामा अष्ट्रेलियाका पाँच प्रमुख शहरमा नेपाल फेस्टिवल सम्पन्न हुँदैछ। आगामी मार्च ९ देखि सुरु हुने यो उत्सव अप्रिल ६ मा ब्रिसबेनमा समापन हुनेछ। नेपाली कला, संस्कृति, भाषा, खाना, र संगीतको प्रवद्र्धन गर्न आयोजित नेपाल फेस्टिवलका प्रत्येक स्थानमा फेस्टिवल परेडसहित कार्यक्रम हुनेछ।
- एडिलेड: एल्डर पार्क ९ मार्च
- मेलबर्न: फेडरेशन स्क्वायर १५ मार्च
- क्यानबेरा: स्टेज ८८, कमनवेल्थ पार्क २२ मार्च
- होबार्ट: पार्लियामेन्ट हाउस लन, सालामाङ्का २९ मार्च
- ब्रिसबेन: किङ जर्ज स्क्वायर ६ अप्रिल
एनआरएन अष्ट्रेलियाका राज्य समितिहरूले आयोजना गरे पनि, यस फेस्टिवलमा स्थानीय नेपाली समुदायका संघसंस्थाहरूको पनि महत्वपूर्ण सहभागिता रहनेछ। साथै, नेपाल सरकारको दूतावास तथा अष्ट्रेलियाका राज्य सरकारहरूले पनि समर्थन जनाएका छन्।
यस वर्ष नेपाल फेस्टिवलको विशेष आकर्षणका रूपमा चर्चित कन्दरा व्याण्डको प्रस्तुति रहनेछ। गायक विवेक श्रेष्ठको नेतृत्वमा कन्दरा टोली फेस्टिवलमा सहभागी हुँदैछ। २०१६ मा अष्ट्रेलियाका पाँच शहरमा धूम मच्चाएपछि ९ वर्षपछि कन्दरा पुनः नेपाल फेस्टिवलमा आफ्नो प्रस्तुति दिन गइरहेको छ। कन्दरा टोलीमा ड्रममा सुनील थापा, गिटारमा देव लामा, बेस गिटारमा दयाबाबु झा, मादलमा अविनाश गायक, किबोर्डमा उमेश थापा रहनेछन्। क्यामेरा र ग्राफिक्स नवीन थापाले सम्हाल्नेछन् भने साउन्ड इन्जिनियर निरब श्रेष्ठ रहनेछन्।
गायक विवेक श्रेष्ठका अनुसार, नेपाल फेस्टिवल दर्शक उपस्थिति तथा सांस्कृतिक महत्वका हिसाबले अति महत्वपूर्ण छ। उनले भने, “नेपाल फेस्टिवल हाम्रो गीत संगीतको लागि उपयुक्त मञ्च हो किनभने हाम्रो संगीत सबै पुस्ताका दर्शकलाई मनपर्छ।”
नेपाल फेस्टिवलपछि कन्दरा व्याण्डले आफ्नो वर्ल्ड टुरलाई निरन्तरता दिँदै अमेरिका र क्यानडा जाने योजना बनाएको छ। अष्ट्रेलियाका नेपाली दर्शकहरूले यस पटक कन्दराबाट नयाँ र विशेष प्रस्तुति अनुभव गर्नेछन्। विवेक श्रेष्ठ भन्छन्, “हाम्रो प्रस्तुति दर्शकसँगै झुम्ने, नाच्ने र गाउने शैलीको हुनेछ। हामी नेपाली संगीतलाई विश्व मञ्चमा दमदार रूपमा उभ्याउनेछौं।”
एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रका अनुसार, कन्दरा व्याण्डले पाँचै शहरमा प्रस्तुति दिनेछ, भने अन्य कलाकारहरूको छनोट सम्बन्धित राज्य समितिहरूले गरेका छन्। नेपालमा चर्चित विभिन्न व्याण्डहरूसँग छलफल गरेपछि कन्दरालाई प्रमुख प्रस्तुतिकर्ताका रूपमा चयन गरिएको थियो।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलका अनुसार, नेपाल फेस्टिवलले नेपाल र नेपाली पर्यटन, खाना, संगीत तथा संस्कृतिको प्रवद्र्धन गर्नुका साथै अष्ट्रेलियाको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्नेछ। उनले भने, “नेपाल फेस्टिवलका कारण स्थानीय व्यापार व्यवसायहरूलाई लाखौं डलरको आर्थिक गतिशीलता प्राप्त हुन्छ।” साथै, उनले नेपाल फेस्टिवलले अष्ट्रेलियामा नेपाली समुदायको पहिचान स्थापित गर्न मद्दत गर्ने बताए।
सिड्नीमा हालै सम्पन्न नेपाल फेस्टिवलमा पनि नेपाली व्यवसायहरूले महत्वपूर्ण भूमिका खेलेका थिए। अध्यक्ष पोखरेलका अनुसार, अष्ट्रेलियाका विभिन्न राज्य सरकारहरूले नेपाल फेस्टिवलका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन्। यस आर्थिक सहयोगले नेपाली समुदायको महत्त्वलाई बढाउँदै लैजाने विश्वास गरिएको छ।
यो पनि पढ्नुहोस ।