मेलबर्न— ग्लेनरोयमा नेपाली कन्सुलेट अफिसको उद्घाटन समारोह सम्पन्न भएको छ। सो अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले कन्सुलेट अफिसलाई थप अधिकार दिने विषयमा पहल गर्ने प्रतिबद्धता जनाइन्। साथै, उनले दूतावासमा सेवाग्राहीलाई थप सहज सेवा दिन विभिन्न उपायहरू अपनाइरहेको जानकारी गराइन्।
कार्यक्रममा वाणिज्यदूत निराजन गौलीले हाल उपलब्ध अधिकारभित्रै सेवा प्रवाह भइरहेको बताए। उनले भने, “यथास्थितिमा पनि काम भइरहेको छ, तर थप अधिकार पाए सेवाग्राहीले अझ राम्रो सुविधा पाउनेछन्।”
त्यसैगरी, गैर-आवासीय नेपाली संघ (NRNA) का पूर्व अध्यक्ष शेष घलेले आफ्नो अनुभव बाँड्दै ३८ वर्षको उमेरमा कन्सुलर पदमा काम गरेको स्मरण गरे।
उद्घाटन समारोहमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, न्याभका अध्यक्ष याकेन्द्र तिमिल्सिना, ANMC का अध्यक्ष डा. तिलक पोखरेल, र फेन्का (FENCA) का अध्यक्ष बोम योञ्जनले वाणिज्यदूत गौलीलाई कन्सुलेट अफिस स्थापनाका लागि बधाई तथा शुभकामना दिए।
कार्यक्रममा नेपाली समुदायका विभिन्न प्रतिनिधिहरूको उपस्थिति थियो। नयाँ कन्सुलेट अफिसले मेलबर्न र आसपासका नेपाली समुदायलाई सहज सेवा प्रदान गर्ने गौलीले बताए।