मेलबर्न नेपाल फेस्टिभलले रच्यो अस्ट्रेलियामै नयाँ कीर्तिमान: यी थिए सात रोचक प्रसंग

मेलबर्न नेपाल फेस्टिभलले रच्यो अस्ट्रेलियामै नयाँ कीर्तिमान: यी थिए सात रोचक प्रसंग
नेपालआईज
२ चैत २०८१ १:३२


अस्ट्रेलियाभर नेपाल फेस्टिभलहरू हुँदै आएका छन्। सुन्ने र देख्नेलाई सामान्य नै लाग्न सक्छ। तर यस वर्षको नेपाल फेस्टिभलमा केही रोचक र नयाँ प्रयासहरू भएका छन्। एनआरएनए अस्ट्रेलियाको युवा नेतृत्व र भिक्टोरियाको कन्सुलेट कार्यालयमा नयाँ वाणिज्यदूतको नियुक्तिले मेलबर्नको नेपाल फेस्टिभललाई परिमार्जन गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन सक्छ।


तर यो विशाल कार्यक्रमको जस भने नेपाललाई मुटुमा राखेर मेलबर्नमा बसेका आम नेपालीहरूलाई जान्छ। यो एक दिनको मात्र कार्यक्रम होइन, महिनौँदेखि खटिएका स्वयंसेवकहरूकै अथक प्रयासको नतिजा हो। तिनीहरू सबै यस मेलबर्न नेपाल फेस्टिभलका नायक हुन्, र हामी उनीहरूलाई नमन गर्न चाहन्छौँ।


भिक्टोरियाको स्टेट लाइब्रेरीबाट सुरु हुने सांस्कृतिक परेडमा यति ठूलो संख्यामा सहभागिता होला भनेर अन्य राज्यबाट आएका मानिसहरूले पनि सोचेका थिएनन्। तर त्यो दृश्य देख्दा लाग्थ्यो, अस्ट्रेलियाभरका नेपाल फेस्टिभलहरूमा पनि यति धेरै नेपालीहरू जम्मा भएका थिएनन्।

सांस्कृतिक परेड यस्तो देखिन्थ्यो— सिंगो नेपाल यहीँ छ! किनकि नेपालमा रहेका सबै जातजाति, भाषा, र संस्कृतिलाई झल्काउने झाँकीहरू मनमोहक थिए। हिमाली शेर्पा, पूर्वी नेपालको लिम्बुवान, तराईको थारु समुदाय, र सुदूरपश्चिमका सांस्कृतिक झाँकीहरूले सबैको ध्यान तानेका थिए।

मेलबर्नको मुख्य सहरका सडकहरू नेपाली झण्डाले ढाकिएका थिए। सहभागीहरू भन्दै थिए— “यत्रो नेपाली परेड कहिल्यै देखेका थिएनौँ!” नेपाली लोकनृत्य, झाँकी, परम्परागत भेषभूषा, र विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरूले दर्शकलाई मोहित बनाएका थिए।


नेपाल फेस्टिभल मेलबर्नको अर्को आकर्षण थियो— रामजानकी मन्दिरको प्रतिकृति। अस्ट्रेलियाका अन्य राज्यहरूमा आयोजना भएका नेपाल फेस्टिभलहरूमा यस्तो देखिएको थिएन।

मेलबर्नको फेडरेशन स्क्वायरमा राखिएको यो मन्दिरको झल्कोले नेपाल भ्रमण गर्न चाहनेहरूमाझ अर्को नयाँ गन्तव्यको रुचि जगाएको छ। किनकि जनकपुर पनि नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो। यहाँ राखिएको जानकी मन्दिर हेर्न र बुझ्न नेपालीहरूसँगै अस्ट्रेलियनहरूको पनि भीड लागेको थियो।


मेलबर्न नेपाल फेस्टिभलको अर्को रोचक पक्ष थियो— चार घण्टासम्म दर्शकलाई मोहित पार्ने नयाँ पुस्ता।

सामान्य बुझाइ थियो कि सिड्नीपछि मेलबर्नमा नेपालीहरूको जनसंख्या धेरै छ। तर मेलबर्नमा मात्र नेपालीहरू धेरै छैनन्, यहाँ नेपाली कला र संस्कृति संरक्षण गर्ने पुस्ताहरू पनि छन् भन्ने कुरा उनीहरूले देखाएको प्रस्तुतिबाट प्रमाणित भयो।

मेलबर्नमै जन्मेका र हुर्किएका नयाँ पुस्ताको सांगीतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनायो। नयाँ पुस्ताले नेपाल फेस्टिभल मेलबर्नको मूल मञ्च अगाडि निरन्तर चार घण्टासम्म सांगीतिक प्रस्तुति दिँदै दर्शकहरूलाई नचाइरहे। यो साधारण कुरा थिएन! उनीहरूले पुराना र नयाँ गीतहरू प्रस्तुत गर्दा दर्शकहरू पनि उत्तिकै रमाइलो गरिरहेका थिए।


“ठूलो भीड, संगीत, र खानाका स्टलहरू देखेपछि जो कोही पनि आउँछ” भन्ने बुझाइ सामान्य छ। तर मेलबर्न नेपाल फेस्टिभलमा त्यसभन्दा फरक दृश्य देखियो। साँच्चै नेपाल फेस्टिभल हेर्नकै लागि भनेर टाढा-टाढाबाट करिब दुई घण्टाको यात्रा गरेर अस्ट्रेलियनहरू समेत मेलबर्न आएका थिए।

बल्लारतबाट आएका एक जना अस्ट्रेलियनले भने, “म नेपाल गइरहन्छु, नेपाली कला-संस्कृति मन पर्छ, त्यसैले बल्लारतको गाउँबाट फेस्टिभल हेर्न आएको हुँ। म त छक्कै परेँ, नेपालमै पुगेजस्तो लाग्यो!”

फेस्टिभलमा धेरै अस्ट्रेलियनहरूको उपस्थिति देखिन्थ्यो, जुन अन्य राज्यका नेपाल फेस्टिभलहरूमा कमै मात्र देखिन्छ।


यस पटकको फेस्टिभलमा संगीतमा पनि नयाँ स्वाद पाइएको थियो। विगत केही वर्षदेखि उही कलाकार र उही ब्यान्डको एकछत्र वर्चस्व थियो। सहभागीहरूलाई लाग्थ्यो— “ओह, गत वर्ष पनि यही कलाकार आएको थियो, अहिले पनि उही रहेछ, के जानु?”

तर यो वर्ष आयोजकहरूले साँझपख नयाँ कलाकार र नयाँ ब्यान्ड उतारेपछि फेडरेशन स्क्वायरको माहोल तात्तियो। संगीतमा झुम्ने भीड देख्दा लाग्थ्यो— फेस्टिभलले साँच्चै नै महोत्सवको माहोल सिर्जना गर्यो!


मेलबर्न नेपाल फेस्टिभलको इतिहासमा पहिलो पटक भिक्टोरियाका प्रिमियर प्रमुख अतिथिका रूपमा उपस्थित भए। नेपाल फेस्टिभल २०२५ यस कारण ऐतिहासिक बन्यो।

यसअघि पनि नेताहरूलाई बोलाउने प्रयास नगरेको होइन, तर यसपटक भने प्रिमियरसहित विभिन्न दलका नेताहरू लामबद्ध भएर महोत्सवको साक्षी बने। नेपाली ढाका टोपी लगाएर उनीहरूले महोत्सवको स्वागत गर्दा उपस्थित सहभागीहरू हर्षले गदगद भएका थिए।

त्यहीँ उभिएका नेपालीहरूले भने— “हाम्रो शिर सगरमाथाजस्तै उच्च भएको अनुभूति भयो। किनकि यो देश बनाउने क्रममा हाम्रो योगदानलाई कदर गरिएको छ, र हाम्रो आत्मसम्मान राखिएको छ!”

त्यसैले त, यो राज्य र देश चलाउने नेताहरूले चन्द्र-सूर्य अङ्कित नेपाली झण्डामुनि उभिएर नेपालीहरूको प्रशंसा गरे।


मेलबर्न नेपाल फेस्टिभल २०२५ ले अस्ट्रेलियामै नयाँ कीर्तिमान बनाएको छ। यस फेस्टिभलमा सांस्कृतिक विविधता, नयाँ पुस्ताको सहभागिता, नेपाली कला-संस्कृतिप्रति अस्ट्रेलियनहरूको चासो, र भिक्टोरियाका शीर्ष नेताहरूको उपस्थिति विशेष रह्यो।

नेपाललाई मुटुमा राखेर बस्ने नेपालीहरूको अथक मेहनतकै कारण यो सम्भव भएको हो। र तिनीहरू नै यस महोत्सवका वास्तविक नायक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर