राजाबादी प्रदर्शनमा ज्यान गुमाएका पत्रकारका लागि अस्ट्रेलियामा आर्थिक सहयोग अभियान सुरु

राजाबादी प्रदर्शनमा ज्यान गुमाएका पत्रकारका  लागि अस्ट्रेलियामा आर्थिक सहयोग अभियान सुरु
नेपालआईज
१७ चैत २०८१ २१:५४

हालै नेपालमा राजसंस्था समर्थकहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका क्यामेरापर्सन सुरेश रजकको परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले अस्ट्रेलियामा आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ।

परिवारको तर्फबाट डार्विन निवासी तथा पूर्व टेलिभिजनकर्मी किरण रजकले यस अभियानको थालनी गरेका हुन्। सुरेश रजकको पत्रकारिताप्रतिको समर्पण, व्यावसायिकता र इमान्दारीको कदर गर्दै, उनका परिवारको कठिन घडीमा सघाउन सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न अनुरोध गरिएको छ।

अभियानका संयोजक किरण रजकले भनेका छन्, “पत्रकार सुरेश रजकको असामयिक निधनले हामी सबैलाई मर्माहत बनाएको छ। उनको योगदानको कदर गर्दै, हामीले सानो सहयोगमार्फत उनको परिवारको पीडामा साथ दिने प्रयास गरेका छौं।”

सहयोग रकम संकलन गर्न अनलाइनमार्फत GoFundMe प्लेटफर्म प्रयोग गरिएको छ भने, विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाहरूले पनि आ–आफ्नो तर्फबाट सहयोग गर्न सक्नेछन्।

सुरेश एभिन्युज टेलिभिजनका लागि कार्यरत थिए र घटनास्थलबाट प्रत्यक्ष रिपोर्टिङ गर्ने क्रममा आगलागीमा परि उनको निधन भएको हो। एन्जा, पत्रकार महासंघलगायतका संस्थाहरूले उक्त घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

सहयोग अभियान केही हप्तासम्म जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको