छत्र शंकर
अष्ट्रेलियन सरकारले एज्ड् केयर सेवाहरूलाई प्रविधिमैत्री बनाउन $31.2 मिलियनको बजेट छुट्याउँदै भर्चुअल नर्सिङ फ्रेमवर्क विकास गर्ने घोषणा गरेको छ। यो कार्यक्रम सन् 2025 को मार्चदेखि 2027 को जुन ३० सम्म सञ्चालन हुनेछ, जसले विशेषतः ग्रामीण तथा दुर्गम क्षेत्रका वृद्धाश्रमहरूलाई लक्षित गर्नेछ।
भर्चुअल नर्सिङ भनेको डिजिटल प्रविधिको माध्यमबाट प्रदान गरिने स्वास्थ्य सेवा हो, जसले वृद्धाश्रमका कर्मचारीहरू तथा सेवाग्राहीहरूलाई विशेषज्ञ नर्सहरूको थप सहयोग उपलब्ध गराउँछ। यद्यपि, यस प्रविधिले प्रत्यक्ष हेरचाहको विकल्प दिन्छ भन्ने होइन; यसको उद्देश्य भनेको स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउनु हो।
अष्ट्रेलियामा नेपाली समुदायका थुप्रै नर्सिङ क्षेत्रमा सक्रिय रूपमा कार्यरत छन्। यस्तो अवस्थामा, भर्चुअल नर्सिङ सम्बन्धी यो नयाँ सरकारी योजना नेपाली नर्सहरूका लागि नयाँ अवसरको ढोका खोल्न सक्छ। भर्चुअल नर्सिङ सेवामा दक्ष नर्सहरूको माग बढ्ने भएकाले नेपाली नर्सहरूले डिजिटल हेल्थ, टेलिमेडिसिन र भर्चुअल केयर सेवामा अनुभव बटुलेर रोजगारीका नयाँ अवसरहरू पाउन सक्छन्। साथै, टेलिहेल्थ, प्रविधि-आधारित परामर्श, र अनलाइन क्लिनिकल सपोर्ट जस्ता सीपहरू आवश्यक हुने भएकाले, विशेष तालिममार्फत आफ्नो सीप अभिवृद्धि गर्ने अवसर पनि उनीहरूलाई प्राप्त हुनेछ।
यस योजनाले भाषिक तथा सांस्कृतिक विविधता भएको वृद्धाश्रमहरूमा सेवा पुर्याउने भएकाले, नेपालीभाषी वृद्धहरूलाई सहज र सांस्कृतिक रूपमा अनुकूल सेवा उपलब्ध गराउने सन्दर्भमा नेपाली स्वास्थ्यकर्मीहरूले विशेष भूमिका खेल्न सक्छन्। त्यसैगरी, टेलिहेल्थ र भर्चुअल नर्सिङका माध्यमबाट व्यक्तिगत रूपमा सेवा प्रदान गर्ने सम्भावनाहरू पनि बढ्ने भएकाले, नेपाली नर्सहरूलाई स्वतन्त्र सेवा प्रदायकका रूपमा आफ्नो व्यवसाय सुरु गर्ने अवसर समेत प्राप्त हुन सक्छ।
अष्ट्रेलियन सरकारले ल्याएको यो नयाँ योजना नेपाली समुदायका लागि प्रविधिमा आधारित स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न भई आफ्नो दक्षता विस्तार गर्ने, रोजगारीको सम्भावना बढाउने, र भविष्यमा अझ स्थायी तथा सशक्त भूमिका निर्वाह गर्ने अवसर बन्न सक्छ।