लेबर सरकार पुनः निर्वाचित भए ANMC लाई ३ लाख ८५ हजार डलरको अनुदान दिने

लेबर सरकार पुनः निर्वाचित भए ANMC लाई ३ लाख ८५ हजार डलरको अनुदान दिने
नेपालआईज
१ वैशाख २०८२ २:१७

मेलबर्न – अष्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (ANMC) ले आगामी संघीय चुनावमा लेबर सरकार पुनः निर्वाचित भएमा ३८५ हजार डलरको अनुदान प्राप्त गर्ने भएको छ। होक निर्वाचन क्षेत्रका संघीय सांसद साम रे (Sam Rae) ले शनिबार सेन्टरको भ्रमण गर्दै उक्त प्रतिबद्धता जनाएका हुन्।

ANMC का अनुसार, यो रकम पूर्ण रूपमा सुसज्जित व्यावसायिक भान्सा निर्माण, ठूला कार्यक्रमहरूमा खाद्य भण्डारणका लागि कूलर रुम, र समुदाय भेला हुन सक्ने छुट्टै डाइनिङ क्षेत्र निर्माणमा खर्च गरिनेछ। यी पूर्वाधार सुविधाहरू विस्तार भएपछि ANMC ले सांस्कृतिक, धार्मिक र सामाजिक कार्यक्रमहरू अझ प्रभावकारी रूपमा आयोजना गर्न सक्नेछ, जसले नेपाली समुदायसँगै अन्य समुदायहरूलाई पनि समेट्ने केन्द्रको रूपमा सेन्टरलाई सुदृढ बनाउनेछ।

ANMC का अध्यक्ष डा. तिलक पोखरेलले जानकारी दिँदै भने, “यो सहयोग मेलबर्नको नेपाली समुदायलाई प्रभावकारी सेवा दिन आवश्यक पूर्वाधार तयार पार्नका लागि महत्वपूर्ण हुनेछ।”

कार्यक्रममा बोल्दै सांसद साम रेले यो लगानी नेपाली समुदायको समृद्धिमा टेवा पुर्‍याउने उल्लेख गर्दै भने, “लेबर सरकारले मात्र यस्ता बहुसांस्कृतिक समुदायका लागि निरन्तर विकास कार्यहरू गर्न सक्ने विश्वसनीयता देखाएको छ।”

यो अनुदान प्राप्त भएपछि ANMC ले ठूला तथा समावेशी चाडपर्व, मल्टिकल्चरल कार्यक्रमहरू आयोजना गर्न, स्तरीय खानपान सेवा प्रदान गर्न र खाना भण्डारण तथा सरसफाइमा व्यावसायिक मापदण्ड कायम राख्न सक्नेछ।

डा. पोखरेलले अन्त्यमा भने, “ANMC ले आगामी पुस्ताका लागि थप अवसर सिर्जना गर्नेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर