भिक्टोरियामा लेबर पार्टीका उम्मेदवार नेपालीको घरदैलोमा भोट माग्दै

भिक्टोरियामा लेबर पार्टीका उम्मेदवार नेपालीको घरदैलोमा भोट माग्दै
नेपालआईज
७ वैशाख २०८२ १२:२५

छत्र शंकर – 

अष्ट्रेलियाको आसन्न संघीय निर्वाचनको सन्दर्भमा भिक्टोरिया राज्यको लेबर पार्टीका तर्फबाट क्यालवेल क्षेत्रका उम्मेदवार बासेम अब्दोले आफ्नो निर्वाचन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायसँग चुनावी एजेन्डा प्रस्तुत गर्दै समर्थनको अपिल गरेका छन्।

क्रेगिवनस्थित पार्टीका स्थानीय नेता अनन्त पौडेलको घरमा आयोजित भेटघाटमा क्रेगिवन, मिकहलेम, कलकलो र डोनिब्रुक क्षेत्रका नेपाली प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उम्मेदवार अब्दोले भिक्टोरियामा नेपाली समुदायको योगदानको खुलेर प्रशंसा गर्दै, उनीहरूको आवश्यकता र मागलाई आफ्नो नीति निर्माणमा समावेश गर्ने प्रतिबद्धता जनाए। उनले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र आवासजस्ता क्षेत्रमा लेबर पार्टीका योजनाहरूका बारेमा जानकारी दिँदै, “हाम्रो पार्टी सधैं आप्रवासी समुदायको पक्षमा उभिएको छ,” भन्दै आफू निर्वाचित भएमा नेपाली समुदायका मुद्दाहरू संसदमा उठाउने बचन दिए।

समुदायका प्रतिनिधिहरूले अष्ट्रेलियामा रहेका नेपाली आप्रवासीहरूको चुनौती र सम्भावनाहरू प्रस्तुत गर्दै, बहुभाषिक सेवा, सामाजिक समावेशीता र पहुँचका विषयमा ध्यान दिन आग्रह गरे।

कार्यक्रमको अन्त्यतिर उम्मेदवार अब्दोले भने, “नेपाली समुदाय hardworking छ, र सामाजिक मूल्यमा दृढ छ। तपाईंहरूको साथ र विश्वासले हाम्रो क्षेत्रलाई अझ समृद्ध र समावेशी बनाउन मद्दत गर्नेछ।”

उनले निर्वाचनमा विजयी भएमा समुदायको सुझाव र सहभागिताका आधारमा प्रभावकारी नीति र सेवा प्रवाह गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर