अष्ट्रेलियामा ‘घरमै बसेर महिनाको हजार डलर कमाउने’ विज्ञापन देखि सावधान !

नेपालआईज
९ वैशाख २०८२ १९:५६
मेलबर्न – “घरमै बसेर महिनाको एक हजार डलर कमाउनुहोस्! अनुभव आवश्यक छैन। दिनमा १–३ घण्टा मात्रै काम गर्नुहोस्। अहिले आवेदन दिनुहोस्!”
के तपाईंले यस्तै प्रकारको विज्ञापन सामाजिक सञ्जालमा देख्नुभयो? वा कुनै इमेलको इनबक्समा अचानक आइपुग्यो? यो कुनै ‘जीवन परिवर्तन गर्ने अवसर’ होइन — बरु ठगहरूको फन्दा हो जसले तपाईंलाई कानुनी जोखिममा समेत पार्न सक्छ।
हालै अष्ट्रेलियामा घरबाट काम गर्न चाहनेहरूलाई लक्षित गर्दै ठगहरूले यस्ता झूटो जागिरका विज्ञापनहरू अनलाइन पोस्ट गरिरहेका छन्।
कामको लागि आवेदन दिने बित्तिकै, पीडितलाई ‘लगानी’, ‘प्रशिक्षण’ वा ‘दर्ता शुल्क’ जस्ता बहानामा रकम मागिन्छ। यसै क्रममा, ठगहरूले व्यक्तिको व्यक्तिगत विवरण समेत लिन्छन्, जसको प्रयोग गरेर उनीहरूले अन्य ठगी गतिविधि गर्छन्।
यदि तपाईं यस्तो साइबर अपराधको सिकार बन्नुभएको छ भने तत्काल www.cyber.gov.au/report मा जानुहोस् वा आपतकालीन अवस्थाको लागि Triple Zero (000) मा फोन गर्नुहोस्।