मेलबर्नमा दीपक विष्टलाई सम्मान, अष्ट्रेलियाका नेपाली खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा जोड्ने बारे बहस

मेलबर्नमा दीपक विष्टलाई सम्मान, अष्ट्रेलियाका  नेपाली खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा जोड्ने बारे बहस
नेपालआईज
१२ वैशाख २०८२ २३:२८

 

मेलबर्न – अष्ट्रेलिया भ्रमणमा रहेका नेपाली खेलकुद क्षेत्रका तेक्वान्दो आइकन दीपक विष्टलाई मेलबर्नका विभिन्न संघसंस्थाहरूले  सम्मान गरेका छन्। नेपाल कन्सुलेट अफिस भिक्टोरियाको परिसरमा शुक्रबार साँझ आयोजित कार्यक्रममा विष्टको खेल क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिनुका साथै अष्ट्रेलियामा रहेका नेपाली खेलाडीहरूलाई मातृभूमि नेपालका राष्ट्रिय प्रतियोगितामा कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा विशेष छलफल गरियो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया, नेपाली एसोसिएसन अफ भिक्टोरिया (NAV) र भिक्टोरियन नेपाली क्रिकेट एसोसिएसन (VNCA) को सहकार्य तथा एनआरएनए भिक्टोरियाका डिपुटी कोअर्डिनेटर तथा पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी महादेव धानुकको संयोजनमा आयोजित कार्यक्रममा, मेलबर्नको गैरआवासीय नेपाली समुदायले विष्टलाई खादा र उपहारसहित सम्मान  गरेका थिए। कार्यक्रममा भिक्टोरियाका  वाणिज्यदूत निराजन गौलीले स्वागत मन्तव्य दिँदै दीपक विष्टले खेलमार्फत नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएकोमा प्रशंसा गर्दै, अष्ट्रेलियामा रहेका नेपाली प्रतिभाहरुलाई नेपालका राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउने पहल आवश्यक रहेको धारणा  राखे । 

 कार्यक्रममा  एनआरएनए भिक्टोरियाका सचिव सशेन्द्र केसी, VNCA का अध्यक्ष सुदीप न्यौपाने, एनआरएनए अष्ट्रेलियाका खेलकुद संयोजक यशवन्त सुवेदी, एनआरएनए भिक्टोरियाका खेल संयोजक सज्जन शर्मा, र फारवेस्ट हन्टर क्रिकेट क्लबका अध्यक्ष धिरेन्द्र कुँवरलगायतले  विष्टलाई सम्मान गरेका थिए।
त्यस्तै, पूर्व फिफा रेफ्री तथा राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र सिक्देललाई पनि कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा लोकराज पौडेल, रवि केसी, राजेश चन्द, तेक्वान्दो यूथ ओलम्पियन रञ्जन श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी भीम गौतम, र साग पदक विजेता दान बहादुर ऐरीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा डा. खगेन्द्र थापाले आफ्नी छोरीलाई नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउने योजना रहेको जनाउनुभयो। तर प्रतियोगिताको मिति टुंगो नलागेकाले अन्योलको स्थिति रहेको बताए । 
चार पटक दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता, दुई पटक एशियन गेम्सका कांस्य पदक विजेता तथा हाल नेपाल खेलकुद परिषद्को राष्ट्रिय टोली तयारी निर्देशक रहेका विष्टले, एनआरएनए र प्रवासी समुदायको सहकार्यमा नेपालको खेल क्षेत्रलाई अझ सशक्त बनाउन सकिने बताए ।  

 नेपालमा पूर्वाधारको कमी भए तापनि, विदेशमा प्रवासी समुदायको सहायताले उच्चस्तरीय तालिमको अवसर प्रदान गर्न सके, नेपाली खेलाडीहरूले विश्वस्तरीय प्रतियोगितामा समेत सफलता हात पार्न सक्ने विष्टको धारणा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर