महिलालाई हेर्ने दृष्टिकोणमा अष्ट्रेलियामा सर्वेक्षण: नेपाली समाज कहाँ उभिएको छ?

महिलालाई हेर्ने दृष्टिकोणमा अष्ट्रेलियामा सर्वेक्षण: नेपाली समाज कहाँ उभिएको छ?
नेपालआईज
१४ वैशाख २०८२ २०:२२

 

सिड्नी — अष्ट्रेलियामा पुरुषहरूमा महिलाप्रति कस्तो दृष्टिकोण छ भन्नेबारे हालै सार्वजनिक भएको एक सर्वेक्षणले रोचक तर चिन्ताजनक संकेतहरू देखाएको छ। विशेष गरी जेनरेशन जेड (१९९७–२०१२ बीच जन्मिएका) का पुरुषहरूमा परम्परागत लिङ्गीय भूमिकामा विश्वास गर्ने प्रवृत्ति बढिरहेको देखिएको छ।

Erin Clarke द्वारा गरिएको HILDA सर्वेक्षण विश्लेषण अनुसार, १५ देखि २४ वर्ष उमेर समूहका पुरुषहरू महिलाहरूको तुलनामा परम्परागत लिङ्गीय मान्यताहरूमा अझ गहिरो विश्वास राख्छन्। धेरै युवा पुरुषहरू अझै पनि पुरुषहरू महिलाभन्दा राजनीतिमा राम्रो नेता हुने र महिलाले घर तथा बालबालिकाको हेरचाह गर्नु उपयुक्त भन्ने धारणा राख्छन्।

महिला अधिकारकर्मीहरूका अनुसार यो प्रवृत्तिमा सामाजिक सञ्जाल र ‘म्यानोस्फियर’ भनिने पुरुष वर्चस्ववादी अनलाइन समुदायहरूको ठूलो प्रभाव परेको छ। सामाजिक सञ्जालका एल्गोरिदमहरूले युवा पुरुषहरूलाई महिलाको समानताको प्रयासलाई कमजोर पार्ने सामग्रीमा बढी सम्पर्क गराउने जोखिम बढाएको बताइन्छ।

शैक्षिक संस्थाहरूमा पनि यसको असर देखिएको छ। शिक्षकहरू र महिला प्राध्यापकहरूले कक्षाकोठामा लिङ्गीय विभाजन बढेको महसुस गराएका छन् र कतिपय अवस्थामा विद्यार्थी पुरुषहरूबाट असम्मानजनक व्यवहार समेत भोग्नुपरेको बताएका छन्।

यद्यपि, समग्र अष्ट्रेलियाली समाज भने परम्परागत लिङ्गीय भूमिकालाई अस्वीकार गर्ने दिशातर्फ अगाडि बढिरहेको छ। तर युवा पुस्ताको केही हिस्सामा अझै पुरातन सोचको जरा गाडिएको देखिन्छ।

महिला अधिकारकर्मीहरू भन्छन्, “यस्ता धारणा हटाउन शिक्षा प्रणालीमा सुधार, सामाजिक सञ्जालमा सचेतना अभिवृद्धि, र सकारात्मक पुरुषत्वको प्रवर्द्धन अनिवार्य छ।” उनीहरूका अनुसार समावेशी र समान समाज निर्माणका लागि युवा पुस्तालाई लिङ्गीय समानताको महत्व गहिरो रूपमा बुझेको आवश्यक छ।

नेपाली समाज कहाँ उभिएको छ?

अष्ट्रेलियामा बढ्दो नेपाली समुदायमा पनि यो विषय सान्दर्भिक देखिन्छ। नेपालबाट आएका अधिकांश नेपालीहरूले परम्परागत रुपमा महिलाले घर र बच्चाको मुख्य जिम्मेवारी सम्हाल्ने संस्कार बोकेर आएका भए पनि, अष्ट्रेलियाको खुला र समानताको समाजले उनीहरूमा केही हदसम्म परिवर्तन ल्याएको छ।

समाजसेवीहरू भन्छन्, “नेपालमा भन्दा अष्ट्रेलियामा नेपाली पुरुषहरू घरायसी काममा बढी सहयोगी भएका छन् र लैङ्गिक समानता बढेको देखिन्छ।” तर नेपाली महिलाहरूका अगुवाहरू अझै पूर्ण सन्तुष्ट छैनन्। उनीहरू भन्छन्, “अष्ट्रेलियाको नेपाली समाजमा पनि पुरुषवादी सोच पूरै हटेको छैन, अझ धेरै सचेतना र व्यवहारमा सुधार आवश्यक छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर