भिक्टोरियाको लिस्टरफिल्ड साउथमा कंगारु मारिएको घटनाको अनुसन्धान गर्दै इन्डेवर हिल्स र नार्रे वारन प्रहरीद्वारा दुई जना युवकलाई मुद्दा चलाइएको छ।
प्रहरीका अनुसार गत अप्रिल २३ तारिख राति करिब १०:२० बजे एक निसान पेट्रोल गाडीले जानाजान कंगारुको समूहतर्फ गाडी हानेर कंगारुलाई मारेको भन्ने उजुरीको आधारमा अनुसन्धान थालिएको हो।
यसै घटनाको सिलसिलामा फर्नट्री गुल्ली रोड, स्कोर्सबी र बर्क स्ट्रिट, रिङवुडस्थित दुई घरमा बिहीबार खोजतलासी गरी दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा प्रयोग भएको निसान पेट्रोल गाडी पनि बरामद गरेको छ।
वाइल्डलाइफ संरक्षण नियामकका अधिकारीहरूले खोजतलासीमा प्रहरीलाई सहयोग गरेका थिए।
पक्राउ परेका युवकमध्ये एक २२ वर्षीय स्कोर्सबीका र अर्का २० वर्षीय रिङवुडका हुन्। उनीहरूलाई जानीजानी जनावरमाथि क्रुर व्यवहार गरेको र संरक्षित वन्यजन्तु नष्ट गरेको अभियोगमा मुद्दा चलाइएको छ।
पूरा विवरण यहाँ पढ्न सकिन्छ: