नेपालका लागि सन्देश

निर्वाचनपछि अष्ट्रेलियामा महिला शक्तिको उदय; नेतृदेखि मन्त्रीसम्म

निर्वाचनपछि अष्ट्रेलियामा महिला शक्तिको उदय; नेतृदेखि मन्त्रीसम्म
छत्र शंकर
३० वैशाख २०८२ १८:३६

क्यानबेरा – अष्ट्रेलियाको पछिल्लो संघीय निर्वाचनले केवल सरकार परिवर्तन मात्र होइन, पुरानो राजनीतिक संरचना नै हल्लाएको छ। यसपटकको निर्वाचनपछि महिला नेतृत्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ।

सत्तारूढ लेबर पार्टीको ऐतिहासिक जितसँगै विपक्षी लिबरल पार्टीले ८० वर्षको इतिहासमै पहिलो पटक महिलालाई संघीय नेताको जिम्मेवारी दिएको छ।

सुसान लेई: लिबरल पार्टीको पहिलो महिला नेता

६३ वर्षीया सुसान लेई लिबरल पार्टीको नेताको रूपमा निर्वाचित भइ पार्टीको इतिहासमै पहिलो महिला संघीय नेतृ बन्ने गौरव प्राप्त गरेकी छिन्। उनले आफ्नो प्रतिस्पर्धी अङ्गस टेलरलाई २९–२५ को मतान्तरले पराजित गरेकी हुन्।

लेई moderate धारकी नेतृ हुन् र अघिल्लो कार्यकालमा पार्टीको उपनेतृको भूमिकामा कार्यरत थिइन्। नेतृ बनेपछि पहिलो सम्बोधनमा उनले भनिन्,

“हामी पुरानो तरिकाबाट होइन, फरक शैलीबाट अघि बढ्नेछौं।”

महिला सहभागितामा उल्लेखनीय वृद्धि

सुसान लेईको निर्वाचनसँगै लिबरल पार्टीको छायाँ मन्त्रिपरिषद (shadow ministry) मा पनि महिला उपस्थिति उल्लेखनीय हुने संकेत दिइएको छ।

यसैबीच, सत्तारूढ लेबर पार्टीको मन्त्रिपरिषद्मा ५० प्रतिशत महिला मन्त्री रहेको तथ्यले अष्ट्रेलियाको राजनीतिमा लैंगिक समानताको सशक्त सन्देश दिएको छ।

नेपाली समुदायका लागि सन्देश: समावेशी नेतृत्वको अभ्यास

महिलाको नेतृत्वमा बढ्दो सहभागिताले अष्ट्रेलियाको समावेशी लोकतन्त्रलाई अझ स्पष्ट बनाएको छ। नेपालको सन्दर्भमा समेत यस्तो अभ्यासले सशक्त महिला राजनीतिक सहभागिता प्रवर्द्धन गर्ने प्रेरणा दिन सक्छ।

अष्ट्रेलियामा रहेका नेपाली मूलकी महिलाहरू शिक्षा, स्वास्थ्य, व्यवसाय र सामुदायिक सेवामा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्। आगामी दिनमा राजनीतिक नेतृत्वमा पनि उनीहरूको सहभागिता बढ्ने आशा गरिएको छ।

सुसान लेईले भनेकी छिन् –

“महिला सहभागिता विना आधुनिक लिबरल पार्टी सम्भव छैन। मेरो नेतृत्वले अष्ट्रेलियाली महिलालाई स्पष्ट सन्देश दिनेछ — तपाईंहरू पार्टीका लागि महत्वपूर्ण हुनुहुन्छ।”

उनले “क्याप्टेन्स कल्स” (व्यक्तिगत निर्णयहरू) नगर्ने र सबै नीतिगत विषयमा पार्टीभित्र छलफल गरेर मात्रै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

अष्ट्रेलियाको संघीय निर्वाचनले राजनीतिक संरचना र नेतृत्वमा विविधता, लचीलोपन र समावेशीताको नयाँ युगको सुरुवात गरेको छ। महिला नेतृको उदयले देखाएको छ – राजनीति केवल पुरुषहरूको क्षेत्र होइन।

नेपाली समुदाय तथा अन्य आप्रवासीहरूको लागि पनि यो प्रेरणादायी सन्देश हो- जहाँ लोकतन्त्र, अवसर र समानताले सँगसँगै अघि बढ्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर