क्यानबेरा – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको क्यानबेरा राज्य संयोजक पदका लागि आगामी कार्यकालमा बिनोद उप्रेतीले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
उप्रेतीले सामाजिक सञ्जालमार्फत समुदायलाई सम्बोधन गर्दै उम्मेदवारी घोषणा गर्न पाउनु आफ्नो लागि अत्यन्तै खुसी र गर्वको विषय भएको बताएका छन्।
विगतमा उनले एनआरएनए एसीटीको कार्यसमितिमा सन् २०२१–२३ कार्यकालमा सदस्य र सन् २०२३–२५ कार्यकालमा राज्य कोषाध्यक्षको रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्।
त्यस्तै, उनी धादिङ समाज अष्ट्रेलियाको प्रवक्ता (२०२१–२३) तथा अन्तर्राष्ट्रिय धादिङ समाजको उपाध्यक्ष (२०२३–२५) को रूपमा समेत क्रियाशील रहेका छन्।
“तपाईंहरूबाट पाएको माया, साथ र समर्थनले मलाई सधैं प्रेरणा र ऊर्जा दिएको छ,” उप्रेतीले आफ्नो घोषणा सन्देशमा उल्लेख गरेका छन्। उनले अबको कार्यकालमा समुदायलाई अझ संगठित, समावेशी र सबै नेपालीहरूको साझा चौतारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।
उनी आगामी दिनमा आफ्ना प्रतिबद्धताहरू क्रमशः सार्वजनिक गर्दै जाने जानकारी दिँदै सम्पूर्ण क्यानबेरा निवासी नेपाली समुदायसँग सल्लाह, सुझाव र समर्थनको अपेक्षा गरेका छन्।