ब्रिसबेन -गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि क्विन्सल्याण्ड राज्य संयोजक पदमा अतुल खड्काले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सन् २०१३ मा विद्यार्थीका रूपमा अष्ट्रेलिया प्रवेश गरेका खड्का विगत एक दशकदेखि विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय रहँदै नेपाली समुदायको सेवा, सशक्तिकरण र समृद्धिमा समर्पित रहँदै आएका छन्।
नेप्लिज एशोसिएसन क्विन्सल्याण्ड , क्विन्सल्याण्ड नेप्लिज कल्चरल सेन्टर र एनआरएनए अष्ट्रेलिया लगायत विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निभाउँदै आएका खड्का हाल एनआरएनए अष्ट्रेलियाको पब्लिक अफिसर छन् । यस अघि उनी एन आरएनए अष्ट्रेलिया क्विन्सल्याण्ड अन्तर्गत युवा सदस्य, युवा संयोजक, र सचिव जस्ता भूमिकामा कार्यरत रहिसकेका छन्।
उनी विद्यार्थी तथा आप्रवासीका लागि अभिमुखीकरण, करियर गाइड, आपतकालीन राहत सहयोग, रक्तदान, नेपाली पर्व संरक्षण, घुम्ती राहदानी सेवा, तथा समुदायमैत्री कार्यक्रमहरूमा विशेष सक्रिय रहँदै आएका छन्। उनले “Walk for Welfare” जस्ता सचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै नेपाल महोत्सव जस्ता ठूला सामुदायिक कार्यक्रमहरूमा दशकदेखि आयोजकको भूमिकामा निरन्तर सहभागीता जनाउँदै आएको दाबी गरेका छन् ।
आगामी कार्यकालका लागि उनले “ एनआरएनए हेल्प डेस्क क्विन्सल्याण्ड ” स्थापना, करियर गाइड तथा मेटरशिप कार्यक्रम, क्षेत्रीय क्विन्सल्याण्डमा समावेशी कार्यक्रम, जेष्ठ नागरिक, महिला र बालबालिकालाई लक्षित कार्यक्रम, तथा नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षणमा आधारित समन्वित डायस्पोरा निर्माण गर्ने योजनाहरू प्रस्तुत गरेका छन्।
एनआरएनए अष्ट्रेलियाको चुनाव आगामी २६ जुलाईमा हुँदैछ ।