(भिडियोसहित)

नेपालीहरू समेत काम गर्ने मेलबर्नको नर्थल्याण्ड सपिङ सेन्टरमा छुरा काण्ड! ग्याङबीचको भिडन्तले मच्चायो आतंक

नेपालआईज
१२ जेठ २०८२ ११:४९

 

मेलबर्न/ नेपालीहरु समेत काम गर्दै आएका मेलबर्नको प्रेस्टोनस्थित नर्थल्याण्ड सपिङ सेन्टरमा आइतबार दिउँसो भयावह  छुरा हानाहान भएको छ। दुई प्रतिद्वन्द्वी ग्याङबीचको झगडा उग्र बन्दै छुरा प्रहारमा परिणत हुँदा एक युवक गम्भीर घाइते भएका छन् भने सयौं ग्राहकहरू त्रसित बनेर दौडिंदै सेन्टरबाट बाहिर निस्किएका थिए।

झगडा सुरु भएको ६ मिनेटमै प्रहरी घटनास्थलमा

भिक्टोरिया प्रहरीका सुपरीन्टेन्डेन्ट केली लसनका अनुसार करिब दिउँसो २:३० बजे फूड कोर्ट क्षेत्रमा दुई ग्याङका करिब १० जना युवाहरुबीच भिडन्त सुरु भएको थियो। केही युवाहरुले अनुहार छोप्ने मास्क (बालाक्लाभा) लगाएर हातमा छुरा झिक्दै एक-अर्कासँग जाइलाग्दा सपिङ सेन्टरमा आतंक मच्चिएको थियो।

घटनाको जानकारी प्राप्त गरेपछि प्रहरी केवल ६ मिनेटभित्रै घटनास्थलमा पुगेको र भिडन्तमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा १५ वर्षीय एक किशोर पनि छन्। बाँकी आठ जनाको खोजी जारी रहेको बताइएको छ।

एक युवक गम्भीर घाइते, अवस्था स्थिर

प्रहरीका अनुसार झगडामा संलग्न करिब २० वर्षको उमेरका एक युवकलाई गम्भीर चोट लागेर अस्पताल भर्ना गरिएको छ। उनको अवस्था हाल स्थिर रहेको छ।

सामान्य नागरिकलाई लक्षित आक्रमण होइन : प्रहरी

सुपरीन्टेन्डेन्ट लसनले उक्त घटनालाई पूर्वनियोजित ग्याङ भेटघाटको परिणाम भएको बताउँदै, यो सामुदायिक जनतालाई लक्षित गरेर गरिएकाे आक्रमण नभएको जनाएकी छन्। “यद्यपि, आइतबार जस्तो भीडभाड भएको दिनमा यस्तो दृश्य देख्नु आम नागरिकका लागि अत्यन्तै त्रासदीपूर्ण अनुभव हुनुपर्‍यो,” उनले भनिन्। “साना बच्चा लिएर आएका अभिभावकहरूका लागि त झन् भयावह क्षण भएको हुनुपर्छ।”

छुरा प्रयोग, तर बन्दुक प्रयोग नभएको पुष्टि

प्रहरीले घटनास्थलबाट एउटा छुरा बरामद गरिएको बताएको छ तर कुनै पनि बन्दुक प्रयोग नभएको पुष्टि गरिएको छ।

शनिबारको झगडाले उक्सायो आइतबारको भिडन्त

प्रहरीका अनुसार शनिबार नै यी ग्याङबीच अर्को झगडा भएको थियो र त्यसकै प्रतिशोधमा आइतबारको भिडन्त चर्किएको अनुमान गरिएको छ। दुवै ग्याङ प्रहरीको निगरानीमा रहेको समेत जानकारी दिइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर