Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
न्यूजिल्याण्ड- स्याङ्जाको अर्जुनचौपारी स्थायी घर भई हाल न्यूजिल्याण्डको टौरङगामा बसोबास गर्दै आएका दिपेश काफ्ले मे १४ तारिख बिहान करिब ९:१५ बजे रोटोरुवा नजिक ट्रक र कारबीच भएको दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनको हाल वाइकाटो अस्पतालको आईसीयू कक्षमा राखी उपचार गरिँदैछ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार दिपेश काफ्लेको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको छ। यस्तो अवस्थामा परिवारको साथ र हेरचाह आवश्यक ठहरिँदै चिकित्सकको सल्लाहमा उनका बुवा, आमा र भाषा सहयोगका लागि काका समेतलाई न्यूजिल्याण्ड बोलाइएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्डको सक्रिय पहलमा आवश्यक भिसा प्रक्रिया पूरा गरी उनीहरू यही मे २४ मा न्यूजिल्याण्ड आइपुगेका छन्।
परिवारको आर्थिक अवस्था कमजोर रहेको र यहाँ बसोबासमा समेत कठिनाइ देखिएकाले एनआरएनए न्यूजिल्याण्डले आफ्नो आपतकालीन कोषबाट उनीहरूको भिसा प्रक्रियासँगै प्रारम्भिक दुई हप्ताका लागि बसोबास र खानपानको खर्च व्यहोर्ने निर्णय गरेको छ।
तर दिपेशको उपचार अवधि लामो हुन सक्ने भएकाले एनआरएनए न्यूजिल्याण्डले विश्वभर रहेका नेपाली समुदायलाई सक्दो सहयोग गर्न हार्दिक अपिल गरेको छ। संकलित सम्पूर्ण रकम घाइते काफ्लेको उपचार तथा परिवारको खर्च व्यवस्थापनमा उपयोग गरिने प्रवक्ता रामहरि पाण्डेले जानकारी दिनुभयो।
सहयोग गर्न चाहनुहुनेले तलको खातामा रकम जम्मा गर्न सक्नुहुन्छ
एनआरएनए न्यूजिल्याण्डले दिपेश काफ्लेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण नेपाली समुदायमा मानवीय भावनाबाट प्रेरित भई सहयोग गर्न पुनः अनुरोध गरेको छ।