Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अष्ट्रेलियामा नेपाली प्रतिनिधिमण्डलद्वारा साइबर सुरक्षा सम्बन्धी अध्ययन!
छत्र शंकर
१७ जेठ २०८२ २३:४२
अष्ट्रेलिया- नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलले अष्ट्रेलियामा साइबर सुरक्षा र डिसइन्फर्मेसन सम्बन्धी अध्ययन तथा अनुभव साटासाट गरिरहेको छ। आठ दिने यो भ्रमणमा सरकारी अधिकारी, अनुसन्धानकर्ता र संचार विज्ञहरुको सहभागिता रहेको छ।
यो कार्यक्रम अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागद्वारा सञ्चालित क्यानबेरा फेलोशिप कार्यक्रमको सहकार्यमा आयोजना गरिएको विशेष अध्ययन भ्रमण हो, जसमा नेपालका उच्च तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ। मे २४ देखि जुन एक सम्म सिड्नी, क्यानबेरा र मेलबर्नका विभिन्न सरकारी तथा शैक्षिक संस्थाहरूमा कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यक्रमको उद्देश्य नेपाल–अष्ट्रेलिया सम्बन्धलाई नीति निर्माण, अनुसन्धान र प्रविधिको क्षेत्रमा थप सशक्त बनाउनु हो। सहभागी टोलीले अष्ट्रेलियाको साइबर सुरक्षा एजेन्सी, विश्वविद्यालयहरू, सरकारी विभागहरू तथा अनुसन्धान संस्थाहरूसँग छलफल गर्दै डिजिटल युगमा बढ्दो साइबर खतराको सामना गर्ने उपाय, लोकतन्त्रमा गलत जानकारीको असर, नीतिगत सहकार्यका सम्भावना र सञ्चार माध्यममा विश्वसनीयता कायम राख्ने तरिकाहरूबारे जान्ने अवसर पाइरहेका छन्।
सञ्चार विज्ञ लेखनाथ पाण्डेले यो भ्रमणलाई नेपाल र अष्ट्रेलियाले भोगिरहेका सूचना अव्यवस्था र साइबर सुरक्षाजस्ता चुनौतीपूर्ण विषयहरूबारे गहिरो ज्ञान प्राप्त गर्ने महत्वपूर्ण अवसर भएको बताउँदै, अष्ट्रेलियाको अभ्यासलाई नेपालमा पनि उपयोगी बनाउन सकिने विश्वास व्यक्त गरे।
प्रतिनिधिमण्डलका अनुसार, यस भ्रमणले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई ज्ञान, प्रविधि र नीतिगत सहकार्यको नयाँ तहमा पुर्याउने अपेक्षा गरिएको छ।