क्याबेरा, अष्ट्रेलियाको धनीहरूको सूची अनुसार, देशका शीर्ष २ सय धनाढ्यहरूको संयुक्त सम्पत्ति ६.९ प्रतिशतले बढेर ६६७.८ अर्ब डलर पुगेको छ। खुद्रा बजारको नाफा घटेको, सेयर बजार अस्थिर बनेको र कोइला मूल्यमा गिरावट आएको भए पनि कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि देखिएको छ।
छैटौं वर्ष लगातार यो सूचीको शीर्ष स्थानमा रहेकी आइरन अयस्क रानी जीना राइनहार्टको सम्पत्ति हाल ३८.१ अर्ब डलर रहेको छ। उनी अष्ट्रेलियाको खानी उद्योगको सबैभन्दा प्रभावशाली अनुहार हुन्। स्रोत (खानी) क्षेत्रमा आधारित धनीहरूको संयुक्त सम्पत्ति १४१ अर्ब डलरभन्दा बढी छ।
राइनहार्टले भनेकी छन् — “मेरो सबैभन्दा मनमा बस्ने लगानी कम्बोडियाका गरिब बालिकाहरूको शिक्षा र जीवनको सुधारमा गरेको योगदान हो, नाफाको हिसाबले हैन।” उनले बताएकी छन् कि तीमध्ये एक बालिकाको बुबा एड्सका कारण बितेका थिए र उनी कच्ची झुपडीमा हुर्केकी थिइन्, जहाँ वर्षामा हिलो घरभित्रै पस्ने गर्थ्यो। अहिले ती बालिका दुईवटा डिग्री हासिल गरेर सुखी वैवाहिक जीवन बाँचिरहेकी छिन्।
खनिज क्षेत्रमै धेरै व्यक्तिहरूको सम्पत्तिमा कमी आए पनि नयाँ अनुहारहरूको प्रवेशले त्यसको सन्तुलन मिलाएको छ। एम रिसोर्सेस का म्याट लाटिमोर र फोनिक्स लिथियम का निक वाकिम पहिलोपटक सूचीमा परेका छन्।
त्यस्तै, अङ्ग्रेजी कम्पनी आङ्ग्लो अमेरिकनको हिस्सेदारी किनेर जेलिन्बाह समूहमा पूर्ण स्वामित्व लिएका साम चोङ, तथा जापानी कम्पनी मित्सुईबाट भीओसी समूहको २५ प्रतिशत हिस्सामा ५ अर्ब डलरको लगानी पाएपछि अलेक्जान्ड्रा बर्ट र लियोनी बाल्डक करोडपतिको सूचीमा परेका छन्।
मेरिटन का संस्थापक ह्यारी ट्रिगुबोफ दोस्रो स्थानमा छन्। उनको सम्पत्ति १२ प्रतिशतले बढेर २९.७ अर्ब डलर पुगेको छ। मेरिटनले सन् २०२४ मा १.६२ अर्ब डलर आम्दानी गरेको थियो।
प्रविधि क्षेत्रले पनि ठुलो हिस्सा ओगटेको छ, कूल १०५.९ अर्ब डलरको सम्पत्ति प्रविधिसम्बन्धी धनाढ्यहरूको नाममा छ। यदि अनलाइन गेमिङ र मिडिया व्यवसायसम्बन्धी धनीहरूलाई पनि प्रविधिको श्रेणीमा राखिएको भए, यो १२३.३ अर्ब डलर पुग्थ्यो। सन् २०२० मा यो योगदान केवल ५४.६७ अर्ब डलर मात्र थियो।
यो वर्ष महिलाहरूको सहभागिता पनि बढेको छ — २०२४ मा ४१ जना महिलाबाट २०२५ मा ४२ जना पुगेका छन्। १० जना नयाँ अनुहारहरूमध्ये एकमात्र महिला मार्गरेट डाइमन्ड हुन्, जो पेनराइट नामक अटोमोटिभ कम्पनीकी मालिक हुन्।
त्यस्तै, अटलासियन का सह-संस्थापक माइक क्यानन-ब्रुक्सकी पूर्वपत्नी एनी क्यानन-ब्रुक्स यसपटक व्यक्तिगत रूपमा सूचीमा परेकी छिन्।
सबैभन्दा चकित तुल्याउने नयाँ अनुहार स्टोनपिक का सह-संस्थापक माइकल डोरेल हुन्, जसको सम्पत्ति १३.९ अर्ब डलर रहेको छ। उनी सूचीको सातौं स्थानमा छन्।
क्यानबेरा विमानस्थलका संस्थापक टेरी स्नोको निधनपछि उनको सम्पत्तिको आधाभन्दा बढी हिस्सा परोपकारी कोषमा दिइएको जानकारीसँगै उनको परिवारको सम्पत्ति ४.१ अर्बबाट घटेर १.५ अर्ब डलरमा झरेको छ।
धनीहरूको औसत उमेर अहिले ७० वर्ष पुग्न लागेको छ। आगामी वर्षहरूमा दानशीलता, सम्पत्ति हस्तान्तरण र परिवारमा बाँडफाँटका कारण केही धनाढ्यहरूको सम्पत्तिमा कमी आउन सक्ने अनुमान गरिएको छ।
अर्थशास्त्री रूबेन फिनिगनका अनुसार सन् १९८३ देखि २०२४ सम्म शीर्ष २०० धनाढ्यहरूको सम्पत्ति प्रतिव्यक्ति आयभन्दा २६ गुणा र प्रतिव्यक्ति सम्पत्ति वृद्धिदरभन्दा ७.७ गुणा छिटो बढेको छ।