क्वीन्सल्याण्ड, ब्रिसबेनको चर्मसाइडस्थित जिम्पी रोडमा रहेको श्री गणेश ज्वेलर्स मा चार जना सशस्त्र लुटेराहरूले आक्रमण गर्दा पसलका सञ्चालक बिजय सुनार गम्भीर घाइते भएका छन्।
लुटपाटका क्रममा लुटेराहरूले उनको टाउकोमा हतौडा प्रहार गरेपछि अवस्था चिन्ताजनक बनेको र तत्काल मस्तिष्कको आपतकालीन शल्यक्रिया गरिएको हो।
मास्क लगाएर हतियारसहित पसलभित्र पसे लुटेरा
क्वीन्सल्याण्ड प्रहरीका अनुसार, ती लुटेराहरू मंगलबार साँझ ५ बजेपछि मास्क लगाएर हतौडा र फलामका रडसहित पसलभित्र पसेका थिए। सुरक्षा प्रणालीअनुसार ग्राहकले घण्टी थिचेर मात्र पसलभित्र प्रवेश गर्न पाउने व्यवस्था भए तापनि लुटेराहरूले उक्त प्रणालीको फाइदा उठाउँदै एक महिला र उनका बालबालिकालाई पछ्याउँदै जबर्जस्ती पसलमा छिरेका थिए।
बहुमूल्य गहना चोरी, पसलमा तोडफोड
पसलभित्र पसेपछि लुटेराहरूले काँचका क्याबिनेटहरू तोडे र भित्र रहेका थुप्रै बहुमूल्य सुनचाँदीका गहना लुटे। लुटपाटकै क्रममा पसल सञ्चालक बिजय सुनारमाथि घातक हमला गरिएको थियो। घटनाका बेलामा उनकी श्रीमती समिता सुनार पनि पसलमै थिइन्, तर उनी भने सकुशल रहेको जनाइएको छ।
अस्पतालमा आपतकालीन शल्यक्रिया
घटनापछि गम्भीर घाइते भएका बिजयलाई रॉयल ब्रिसबेन तथा महिला अस्पताल लगिएको थियो। श्रीमती समिताका अनुसार बिजयको टाउकोमा रगत जमेको देखिएपछि चिकित्सकहरूले तत्काल शल्यक्रिया गरेका हुन्। हाल उनको अवस्था स्थिर भए पनि चिकित्सकीय निगरानीमा राखिएको छ।
चोरेको गाडीमा भागे, पक्राउ अझै भएको छैन
लुटपाटपछि लुटेराहरू क्यालामभेल बाट आइतबार चोरेको खैरो रंगको होन्डा सीआर–भी स्टेसन वागन चढेर फरार भएका थिए। प्रहरीका अनुसार हालसम्म कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सकिएको छैन र अनुसन्धान जारी रहेको बताइएको छ।
नेपाली समुदायमा त्रास
ब्रिसबेनमा यसअघि पनि नेपालीहरूद्वारा सञ्चालित सुनचाँदी पसलहरू लक्षित लुटपाटका घटनाहरू भइरहेकाले यस पछिल्लो घटनाले समुदायमा थप त्रास फैलाएको छ। गैरआवासीय नेपाली संघ, क्वीन्सल्याण्ड ले विज्ञप्ति जारी गर्दै दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
यदि तपाईंलाई घटनाबारे कुनै जानकारी छ भने क्राइम स्टपर्स लाई १८०० ३३३ ००० मा सम्पर्क गर्न सक्नुहुन्छ।