मेलबर्न –अष्ट्रेलियाको दोस्रो ठूलो नेपाली जनसंख्या भएको राज्य भिक्टोरियामा गैरआवासीय नेपाली संघको चुनावी सरगर्मी झनै तातिएको छ। अब, नेपाली समुदायमा लामो समयदेखि सक्रिय दोर्ण पन्त समिरले राज्य संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पन्त सन् २००९ देखि २०११ सम्म एनआरएनए भिक्टोरियाका संयोजक थिए। उनलाई चिन्नेहरू भन्छन्— “उनी पुनः नेतृत्वमा फर्किँदा भिक्टोरियाका नेपाली समुदायको न्याय हुनेछ।” कारण, उनको नेतृत्वमा गरिएका कामहरू अझै पनि सम्झनालायक छन्।
उनको उम्मेदवारीसँगै महादेव धानुकसँगको प्रतिस्पर्धा झनै चाखलाग्दो बन्ने देखिएको छ।
उम्मेदवारी घोषणा गर्दै पन्तले भने,“एनआरएनए राजनीति गर्ने संस्था होइन, समाज सेवा गर्ने संस्था हो। अहिले राजनीति हावी भएको देख्दा दुःख लाग्छ। अबको पुस्ताले यस्तो राजनीति सहनेवाला छैन।”
पन्तको नेतृत्वमा पूर्ण प्यानलसहितको टिम पनि चाँडै सार्वजनिक गरिने भएको छ। उनले भने,“हामी संयोजक मात्र होइन, सबै पदमा उम्मेदवारसहित चुनावी मैदानमा उत्रिएका छौं। हाम्रो उद्देश्य हो— सबैलाई समेट्ने, सक्षम र समावेशी नेतृत्व दिनु।”
यसअघि भिक्टोरियाबाट सन्तोष कुँवर समूहले पनि पूर्ण प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेको छ, जसले यो चुनावलाई थप रोमाञ्चक बनाएको छ।