मेलबर्न— नेपाली समुदायमा खेलकुदको माध्यमबाट युवा सहभागिता र ऊर्जा विस्तार गर्ने लक्ष्यसहित सन् २०१८ मा स्थापित हिमालयन टाइगर्स फुटबल क्लबको नयाँ कार्यसमिति घोषणा गरिएको छ। क्लबको अध्यक्षमा सन्तोष पाण्डे चयन भएका छन्।
मेलबर्नमा सक्रिय रहेको यो सामुदायिक क्लबले बहुसांस्कृतिक पृष्ठभूमिका युवाहरूलाई फुटबल तथा अन्य खेल गतिविधिमा संलग्न गराउँदै आएको छ। नवगठित नेतृत्वले आगामी दिनहरूमा समुदायमैत्री खेलकुद कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष पाण्डेले जनाएका छन्।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा उदय बिष्ट र जमुना रिजाल, कोषाध्यक्षमा शुशिल गुरुङ, सचिवमा बिमल गुरुङ, सह–सचिवमा रबिन सुनार चयन भएका छन्। सदस्यहरूमा सुबिना पाण्डे, बिमा लामा, निरु सापकोटा रेग्मी, रेश्मा मानन्धर, रेडिता गिरी, रोहित बस्नेत, श्रीजना भण्डारी, अनिल महर्जन, लक्ष्मी थापा मगर र टेक लामिछाने रहेका छन्।
नयाँ कार्यसमितिले नेपाली संस्कृति, भाइचारा र सामुदायिक सहकार्यलाई सुदृढ गर्दै खेलकुदमार्फत युवा सशक्तिकरणलाई प्राथमिकता दिने योजना बनाएको छ। क्लबले “स्वस्थ युवा, सशक्त समुदाय” भन्ने नारालाई व्यवहारमा उतार्ने अपेक्षा गरिएको छ।
हिमालयन टाइगर्स मेलबर्न, अष्ट्रेलियामा आधारित एक सामुदायिक खेलकुद क्लब हो। सन् २०१८ देखि प्रतिस्पर्धी खेलकुद गतिविधिमा सक्रिय यो क्लबको मुख्य लक्ष्य खेलकुदमार्फत विभिन्न राष्ट्रियताका युवा प्रतिभाहरूलाई संलग्न गराउनु हो। एक सामुदायिक क्लबको रूपमा, हिमालयन टाइगर्सले युवा खेलाडीहरूलाई स्वागतयोग्य वातावरणमा खेलकुद र सामुदायिक कार्यक्रममा सहभागी हुने अवसर प्रदान गर्दै आएको जनाएको छ।