मेलबर्न – एनआरएनए अष्ट्रेलियाको निर्वाचनको पूर्वसन्ध्यामा भिक्टोरियाका युवा संयोजक पदका उम्मेदवारले युवालाई आकार्षित गर्ने एजेण्डालाई पुन सामाजिक संजालमा फैल्याएका छन् । टिम एकताबाट सनराइज ज्ञवाली र सन्तोष कुँवरको टिमबाट गौरव सुनार चुनावी मैदानमा छन् । दुबै उम्मेदवारले आ -प्नो जित्ने दावी गरेका छन् ।
सनराइज भन्छन् ; एक पूर्व अन्तर्राष्ट्रिय विद्यार्थी, फिटनेस कोच, उद्यमी, र कठिन समयमा अनगिन्ती विद्यार्थीहरूलाई गर्वका साथ सहयोग गरेको व्यक्ति हुनुको नाताले, म यहाँ कुनै पदका लागि मात्र आएको छैन। म यहाँ हाम्रा युवाहरूको सेवा गर्न, उनीहरूलाई माथि उठाउन र उनीहरूका लागि काम गर्न आएको छु।
मैले युवाहरूका समस्याहरूलाई नजिकबाट देखेको छु—रोजगार खोज्ने चुनौती, घरको याद, उचित मार्गदर्शनको अभाव, वा एक्लो महसुस गर्नु। त्यसैले, म वास्तविक योजना र वास्तविक सहयोग लिएर आएको छु।
एजेन्डाहरू
- युवा हटलाइन र हेल्प डेस्क: थोमास्टाउनमा कार्यालयसहित वास्तविक समयमा सहयोग।
- मानसिक स्वास्थ्य र ध्यान: निर्देशित श्वासप्रश्वास, तनाव मुक्ति, र निष्पक्ष सहयोग।
- फिटनेस र जीवनशैली कोचिङ: मेरो Cert IV in Fitness प्रयोग गरी नि:शुल्क कसरत र डाइट योजनाहरू।
- उद्यमशीलता सम्मेलनहरू: मेट्रो र क्षेत्रीय भिक्टोरियाभरि व्यापारिक मेन्टरशिप।
- सीप र डिजिटल सशक्तिकरण: फ्रिलांसिङ, क्यानभा, एआई उपकरणहरू, सामग्री सिर्जना।
- सिर्जनात्मक र सांस्कृतिक मञ्च: संगीत, कला, पोडकास्ट, र आत्म-अभिव्यक्ति।
- करियर र माइग्रेसन मार्गदर्शन: एजेन्ट र कानूनी विशेषज्ञहरूसँग मासिक सत्रहरू।
- नेपाल लगानी सम्बन्ध: युवाहरूलाई आउटसोर्स गर्न, लगानी गर्न र योगदान गर्न मार्गदर्शन।
- विद्यार्थी कार्यक्रमहरू र सामुदायिक एकता: बीबीक्यू, हाइक, जागिरका सुझावहरू, र सामूहिक मेलमिलाप।
म किन?
- तपाईंहरूकै जस्तै अनुभव भएको पूर्व अन्तर्राष्ट्रिय विद्यार्थी।
- अष्ट्रेलिया र नेपाल दुवैमा सफल व्यवसायका निर्देशक।
- प्रमाणित फिटनेस कोच र विपश्यना ध्यान अभ्यासी।
- नेपालमा २०+ भन्दा बढीलाई रोजगार दिने, नेपाल लगानी शिखर सम्मेलनमा सहभागी।
- एयरपोर्ट पिकअपदेखि कोभिड सहयोगसम्म वास्तविक मद्दत गरेको प्रमाणित रेकर्ड।
गौरवका एजेण्डा
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको जुलाई २६ मा हुने निर्वाचनलाई लक्षित गर्दै युवा संयोजक पदका उम्मेदवार गौरव सुनारले आफ्नो टिम र पाँच बुँदे एजेन्डा सार्वजनिक गरेका छन्। एनआरएनए भिक्टोरियाका वर्तमान उप-युवा संयोजक समेत रहेका सुनारले आफू नेतृत्व गर्दै अघि सारेको टिम अनुभवी, समाजसेवामा सक्रिय र युवा लक्षित कार्यक्रमहरूमा केन्द्रित रहेको दाबी गरेका छन्।
गौरव सुनार सन् २०२१ देखि २०२३ सम्म एनआरएनए राष्ट्रिय समिति सदस्यको रूपमा पनि संलग्न थिए। १६ वर्षको उमेरदेखि सामाजिक संस्थाहरूमा सक्रिय रहेका उनले युवाहरूको सशक्तिकरण र समावेशीतामा विशेष जोड दिएको उल्लेख गरे।
पाँच एजेन्डा
युवा नेतृत्व र करियर विकास:
युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न तथा करियर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्ने।
उद्यमी भेटघाट र स्टार्टअप सहयोग:
युवा उद्यमीहरूलाई जोड्ने प्लेटफर्म निर्माण गर्ने र नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने।
मानसिक स्वास्थ्य र कल्याण चेतना:
मानसिक स्वास्थ्यको महत्वबारे सचेतना फैलाउने र आवश्यक परेमा सहयोग सेवा सञ्चालन गर्ने।
डिजिटल र साइबर सुरक्षा चेतना:
डिजिटल युगमा बढ्दो साइबर खतराबाट सचेत गराउने, युवाहरूका लागि साइबर सुरक्षा कार्यक्रम सञ्चालन गर्ने।
सांस्कृतिक तथा खेलकुद प्रवर्द्धन:
नेपाली कला, संस्कृति र खेलकुदको प्रवर्द्धन गर्न स्थानीय स्तरमा कार्यक्रमको आयोजना गर्ने।
शनिबार एनआरएनए अष्ट्रेलियाको चुनाव हुँदैछ ।