Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अष्ट्रेलियाको स्थायी आप्रवासन संख्यामा कुनै परिवर्तन नहुने
नेपालआईज
१७ भदौ २०८२ ३:४१
क्यानबेरा/ अष्ट्रेलियाली प्रधानमन्त्री एन्थनी अल्बानेज नेतृत्वको सरकारले स्थायी आप्रवासन कार्यक्रमलाई यसै वर्षजस्तै आगामी वर्ष पनि १ लाख ८५ हजारमै कायम गर्ने घोषणा गरेको छ।
गत आइतबार देशव्यापी रूपमा आप्रवासनविरोधी र्याली भएका केही दिनमै आप्रवासन मन्त्री टोनी बर्कले मंगलबार स्थायी आप्रवासन कार्यक्रम परिवर्तन नहुने जानकारी दिएका हुन्। उनका अनुसार, राज्य र प्रदेशहरूसँगको परामर्शपछि विशेषगरी दक्ष आप्रवासनलाई प्राथमिकता दिँदै संख्यामा निरन्तरता दिन सिफारिस गरिएको हो।
यो कार्यक्रम परिवार, दक्ष (skilled) र विशेष योग्यता (special eligibility) भिसालाई समेट्छ, तर अस्थायी भिसा, स्थायी बसोबास (PR) र अष्ट्रेलियाली नागरिकलाई भने यसमा गणना गरिएको छैन।
जनसंख्या वृद्धि र दबाब
२०२२–२३ मा अष्ट्रेलियाको नेट ओभरसिज माइग्रेशन (NOM) रेकर्ड ५ लाख ३८ हजार पुगेको थियो, जुन २०२३–२४ मा घटेर ४ लाख ४६ हजारमा झरेको छ।
यसैबीच, संसदमा प्रश्नोत्तर सत्रमा स्वतन्त्र सांसद बब क्याटरले आप्रवासनको ‘चर्को लागत’ भन्दै सरकारलाई आलोचना गरेका थिए। उनले वार्षिक ४ लाखभन्दा बढी आप्रवासीले आवास र पूर्वाधारमा असह्य दबाब सिर्जना गरिरहेको दाबी गर्दै जनसंख्या वृद्धि अर्थतन्त्रलाई नोक्सान पुर्याइरहेको तर्क गरेका थिए।
क्याटरले सरकारले आप्रवासन घटाएर ग्याँस र कोइलामा आधारित परियोजनालाई प्राथमिकता दिनुपर्ने मागसमेत राखेका थिए।
प्रधानमन्त्रीको जवाफ
प्रधामन्त्री अल्बानेजले क्याटरको तथ्यांक असत्य भएको बताउँदै, २०२४ मा आप्रवासन दर ३७ प्रतिशत घटेको तथ्य प्रस्तुत गरे। उनले अष्ट्रेलियाको विविधतालाई सामाजिक र आर्थिक बलको रूपमा व्याख्या गर्दै भने – “आजको अष्ट्रेलिया विगतको ‘ह्वाइट अष्ट्रेलिया’ नीतिको जस्तो छैन। हामी बहुसांस्कृतिक राष्ट्रका रूपमा बलिया छौं।”
अल्बानेजले लोकतान्त्रिक प्रणाली नै जनताको इच्छा प्रतिबिम्बित गर्ने माध्यम भएको भन्दै आफ्नो सरकार चुनावमार्फत् पाएको जनादेशअनुसार अघि बढिरहेको बताए।