मेलबर्नमा पहिलोपटक मनाइयो इन्द्रजात्रा, ६ हजारभन्दा बढीको सहभागिता (फोटो फिचर)

मेलबर्नमा पहिलोपटक मनाइयो इन्द्रजात्रा, ६ हजारभन्दा बढीको सहभागिता (फोटो फिचर)
छत्र शंकर
२१ भदौ २०८२ ११:४२

 

मेलबर्न / शनिबार मेलबर्नले काठमाडौंको एक झलक देख्यो। नेवा गुठी मेलबर्नद्वारा अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी) मा पहिलोपटक भव्य रूपमा आयोजित इन्द्र जात्रा (येन्या पुन्ही) ले यहाँको नेपाली समुदायलाई आफ्नै मातृभूमिको भावनामा डुबायो। आयोजकका अनुसार करिब  ६  हजार  भन्दबढी नेपालीले यो ऐतिहासिक क्षणलाई प्रत्यक्ष अनुभव गरे।

काठमाडौंको इन्द्र जात्रामा हुने परम्परागत रीतिरिवाज, कला, संस्कृति र नृत्य–संगीत मेलबर्नमै झल्किएको थियो। आफ्ना सांस्कृतिक पोशाकमा सजिएका बालबालिकादेखि वृद्धवृद्धासम्मको उमंगले जात्रालाई काठमाडौंको सडकमा जस्तै रंगीन बनाइदियो। अनुहारमा प्रकट भएको हर्ष र अभिमानले देखाउँथ्यो, “हामी जहाँ भए पनि हाम्रो संस्कृतिलाई जिउँदै राख्छौं।”

रथयात्रा, धिमे र लाखे नाचको मोह

कार्यक्रमको प्रमुख आकर्षण गणेश, भैरव र जीवित देवी कुमारीको रथयात्रा थियो। धिमेको तालमा ढोल बज्दा सहभागीहरूको उत्साह चरममा पुगेको देखिन्थ्यो। अझ रोचक त के थियो भने, अष्ट्रेलियामै जन्मेर हुर्केका युवा–युवतीहरू गर्वका साथ रथ तान्न अघि सरेका थिए।

लाखे नाच र पुलुकिसी (हात्ती) नाच प्रस्तुत हुँदा अतिथी मन्त्री र सांसदहरू समेत दर्शक भीडसँगै उत्साहित बने। उनीहरूलाई फोटो र भिडियो खिच्दै रमाइरहेको देख्दा यो पर्व केवल नेपालीहरूको मात्र नभई बहुसांस्कृतिक मेलबर्नकै साझा उत्सव बनेको अनुभूति भयो।

नेवारी स्वाद र सांस्कृतिक प्रदर्शनी

इन्द्र जात्रामा काठमाडौंको परिकार ‘समय बाजी’ को स्वाद पाउने मौका सहभागीहरूका लागि विशेष थियो। नेवारी खानाका परिकार चाख्न लाइन लाग्नेहरूको भीड त्यत्तिकै आकर्षक देखिन्थ्यो। मन्त्री र सांसदहरूले समेत स्वाद चाख्दै नेपाली भान्साको प्रशंसा गरे। त्यसैगरी, स्टलहरूमा राखिएका नेपाली कला, हस्तकला र विभिन्न सांस्कृतिक प्रदर्शनीले मेलबर्नको बहुसांस्कृतिक समाजलाई नेपालीपनमा रंगाइदियो।

कार्यक्रममा भिक्टोरियाका लागि नेपाली वाणिज्य दूत निराजन गौली, बहुसांस्कृतिक मामिलाका मन्त्री इन्ग्रिड स्टिट, सांसद जोश बुल, सांसद क्याथलिन म्याथ्युज-वार्ड, विपक्षी दलका उपनेता तथा छायामन्त्री इभान मुलहोल्यान्ड ,  सांसद स्टिभ म्याक्गी , न्याभका अध्यक्ष डा. याकिन्द्र  तिमिल्सिना र एनआरएनए भिक्टोरियाका उपाध्यक्ष  शसिन्द्र गौतमको उपस्थितिले कार्यक्रममा अझै गरिमा थपियो। अतिथीहरूले भिक्टोरियाको नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गर्दै निरन्तर साथ र समर्थन रहने प्रतिबद्धता जनाए।

६ हजार  भन्दाबढीको सहभागिता

मेलबर्नको इन्द्रजात्रामा  करिब ६ हजार भन्दाबढी  उपस्थित भएका थिए, जसमा परिवारका सदस्यदेखि बालबालिकासम्म सक्रिय सहभागिता जनाएका थिए।

यस वर्षको इन्द्र जात्रालाई सफल बनाउन इभेन्ट डाइरेक्टर तथा सल्लाहकार रञ्जन वैद्यले नेतृत्व गरेका थिए। कार्यक्रमको समग्र समन्वय माया सुवालले गरेका थिए भने कार्यक्रमको समन्वय सुशान्त डंगोलले गरेका थिए ।

रथ निर्माण टोली (पियुष  र टिम) ले कलात्मक कौशल देखाउँदै रथ निर्माण गरेका थिए। रथ र स्वेत भैरवसहितको प्रस्तुतिले कार्यक्रममा आकर्षण थपेको थियो ।

सांस्कृतिक टोलीलाई कुमारले नेतृत्व गरेका थिए भने छिस्कार महर्जन, अमन महर्जन तथा आर्यन मानन्धरले बाजा व्यवस्थापन गर्दै जात्रालाई  थप  रमाइलो बनाएका थिए ।

सुदीप मास्केको नेतृत्वमा रहेको ट्राफिक तथा सुरक्षा टोलीले १५ सय भन्दा बढी सवारीसाधन व्यवस्थापन गर्न सफल भयो। स्वेच्छिक सहयोगी स्वयंसेवकहरूले सबै गतिविधिको मेरुदण्ड बनेर कार्यक्रमलाई सहज बनाए। यस कार्यमा बीना डंगोलले विशेष नेतृत्व लिएकी थिइन्, उनलाई रामिता बाटीले सहयोग गरेकी थिइन्।

प्रचार–प्रसार टोलीका सुरेश महर्जन र सुरज प्रधानले  भिड व्यवस्थापनमा  महत्वपूर्ण भूमिका खेले भने स्वास्थ्य तथा सुरक्षा टोलीमा तरनजित कौर, बीनालगायतले सक्रिय भूमिका  खेलेका थिए ।

ललिशा थापाले  मञ्च तथा कार्यक्रम व्यवस्थापन, एमसी तथा अतिथि समन्वय गरेकी थिइन्। भिड व्यवस्थापनको जिम्मा राजेन्द्र सिंहले पुरा गरेका थिए। आर्थिक जिम्मेवारी रजन मास्के र सुर्य महर्जनले सम्हालेका थिए।

कार्यक्रममा भिआइपी व्यवस्थापन माधुरी मास्केले गरेकी थिइन्। कार्यक्रममा सहयोगी संस्था, मिडिया तथा प्रायोजकहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो।

जात्राका क्रममा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम समेत आयोजना गरियो, जसलाई आगामी वर्षहरूसम्म निरन्तरता दिइने आयोजकले बताएका छन्। साथै, कार्यक्रममा “बादालमुनी बाग्लुङ : A Story Beyond Pages” पुस्तक विमोचन पनि गरिएको थियो।

   

Photo Credit: Pradeep Raj Onta

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर