क्यानबेरा। ३४ वर्षीया अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्थायी अष्ट्रेलियन भिसा दिलाइदिन्छु भन्ने प्रलोभनमा पारेर ४२ हजार डलरभन्दा बढी ठगी गरिएको खुलासा भएको छ। प्रहरीले यसलाई ‘सुव्यवस्थित ठगी प्रकरण’ भनेर वर्णन गरेको छ।
यो घटना सन् २०२१ जनवरीमा सुरु भएको थियो। ती विद्यार्थीको भेट वेस्टर्न सिड्नीका ५१ वर्षीय पुरुषसँग भएको थियो। उनले ‘स्पोन्सर्ड इनभेष्टर भिसा’ (Sponsored Investor Visa) दिलाइदिने वचन दिएका थिए, जसअन्तर्गत विदेशी नागरिकले ठूलो लगानीमार्फत अष्ट्रेलियाको स्थायी बसोबास पाउन सक्ने व्यवस्था छ।
प्रहरीका अनुसार त्यसपछिका नौ महिनासम्म ती महिलाले सो पुरुष र उनले सिर्जना गरेको नक्कली समूहसँग सम्पर्क राखिन्। यस अवधिमा उनले २९ पटक जम्मा गर्दै करिब ४२ हजार डलर बुझाइन्। पछि शंका लागेपछि २०२१ डिसेम्बरमा उनले प्रहरीसमक्ष उजुरी दिएकी थिइन्।
अनुसन्धानको क्रममा २०२४ जुनमा वेस्टर्न सिड्नीको मिडलटन ग्रेन्जस्थित उनको घरमा प्रहरीले छापा मारेको थियो। सोही वर्ष नोभेम्बरमा उनलाई अदालतमा उपस्थित हुन समन्स जारी गरिएको भए पनि उनी उपस्थित भएका थिएनन्।
अन्ततः २०२५ सेप्टेम्बर १८ मा एसीटी प्रहरीले उनलाई पक्राउ गरी एसीटीमा ल्यायो। ५१ वर्षीय ती पुरुषमाथि २९ वटा ‘obtaining property by deception’ अर्थात् ठगीमार्फत सम्पत्ति प्राप्त गरेको अभियोग लगाइएको छ। शुक्रबार उनलाई एसीटी मजिस्ट्रेट्स कोर्टमा पेश गरिएको छ।
एसीटी प्रहरीले अन्तर्राष्ट्रिय विद्यार्थी र भिसा खोज्नेहरुलाई सचेत रहन आग्रह गरेको छ। “कुनै पनि इमिग्रेशन एजेन्टसँग संलग्न हुनुअघि उनीहरूको प्रमाणपत्र र वैधानिकता पक्का गर्न अत्यन्त जरुरी छ,” प्रहरी प्रवक्ताले भने।
हाल अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासीलाई लक्षित गरेर यस्ता भिसा ठगी घटनाहरू बढ्दो क्रममा रहेको अधिकारीहरूको भनाइ छ। सम्बन्धित निकायहरूले दर्ता भएका इमिग्रेशन एजेन्टमार्फत मात्र प्रक्रिया अगाडि बढाउन र शंकास्पद गतिविधि तुरुन्तै रिपोर्ट गर्न आग्रह गरेका छन्।