मेलबर्नमा ‘आध्यात्मिक उत्सव’ डिसेम्बर १२ बाट सुरू, १८ तारिखको कलश यात्रामा सहभागी बनौँ…

मेलबर्नमा ‘आध्यात्मिक उत्सव’ डिसेम्बर १२ बाट सुरू, १८ तारिखको कलश यात्रामा सहभागी बनौँ…
नेपालआईज
२६ मंसिर २०८२ २१:५५

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नस्थित नेपाली समुदाय यतिबेला ‘मेलबर्न आध्यात्मिक उत्सव’ को तयारी र उत्साहमा रमाइरहेको छ। आगामी डिसेम्बर १२ तारिखदेखि उत्सवको भव्य उद्घाटन हुने भएको छ। प्रख्यात कथावाचिका राधिका दासीजीको संगीतमय प्रवचन रहने यो आध्यात्मिक कार्यक्रमको आयोजना अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (ANMC) ले गरेको हो।

उत्सवको मुख्य कार्यक्रम डिसेम्बर १८ गतेको कलश यात्रा पश्चात सुरु हुने छ। सोही दिन दिउँसो ३ बजे सहभागीहरू भेला भई साँझ ४ बजेदेखि कलश यात्रा प्रारम्भ हुने ANMC का उपाध्यक्ष तथा आध्यात्मिक उत्सव संयोजक केशव कंडेलले जानकारी दिए। उनले भने, “यो महोत्सव धार्मिक मात्र नभई सांस्कृतिक दृष्टिले पनि नेपाली समुदायका लागि अत्यन्त महत्वपूर्ण उत्सव हो। कलश यात्रामा सहभागी हुँदा सकेसम्म मौलिक सांस्कृतिक भेषभूषामा आउन हामी आग्रह गर्दछौँ, जसले समुदायको सांस्कृतिक पहिचान, एकता र गौरवको प्रतिनिधित्व गर्छ।”

मन्दिर र गुम्बासहितको सांस्कृतिक केन्द्र निर्माण गर्ने उद्देश्यसहित स्थापित ANMC ले आफ्नो मुख्य ध्येय पूरा गर्न निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको छ। संस्थाका अध्यक्ष तिलक पोखरेलका अनुसार, यस्ता कार्यक्रमहरूले संस्थाको उद्देश्यसँगै मेलबर्नमा रहेका नेपालीहरूको सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका छन्।

यस वर्षको आध्यात्मिक महोत्सवको अर्को प्रमुख उद्देश्य ‘ऋणमुक्त ANMC’ अभियान हो। ANMC ले आफ्ना सदस्य तथा शुभचिन्तकलाई हातेमालो गर्न आह्वान गरेको छ। अध्यक्ष पोखरेलका अनुसार, महोत्सवबाट संकलित आर्थिक सहयोग संस्था स्थापने क्रममा जग्गा खरिदका लागि लिएको ऋण तिर्न उपयोग गरिनेछ। उनले भने, “सबैको सहयोग र साथ रहेमा यस वर्षमै ऋणमुक्त बन्ने हाम्रो उद्देश्य पूरा गर्न सकिने ठोस विश्वास छ।”

मेलबर्न आध्यात्मिक महोत्सवको मुख्य कार्यक्रम डिसेम्बर १९ देखि २३ सम्म ANMC को डिगर्स रेस्टस्थित आफ्नै प्राङ्गणमा सञ्चालन हुनेछ। यस अवधिमा संगीतमय सत्संग, भगवानका लीलामय नाटक, विविध सांस्कृतिक प्रस्तुति, महाआरती लगायतका विभिन्न आकर्षक कार्यक्रम हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर