मेलबर्न । अष्ट्रेलियाको मेलबर्नस्थित अष्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टरले मन्दिर निर्माणसँग सम्बन्धित ऋणमुक्त अभियानलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायसँग एकजुट सहयोगको अपिल गरेको छ। एएनएमसीका उपाध्यक्ष तथा अध्यात्मिक महोत्सव संयोजक केशव कंडेलले अभियान सफल बनाउन सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।
अभियान संयोजक कंडेलद्वारा जारी अपिलमा मन्दिर हालसम्म पनि आर्थिक ऋणको भारमा रहेको र लामो समयदेखि सीमित व्यक्तिहरूले मात्र ठूलो जिम्मेवारी वहन गर्दै आएको उल्लेख गरिएको छ। निरन्तर आर्थिक तथा मानसिक दबाबका कारण अब केही व्यक्तिहरूको प्रयास मात्रले यो अभियानलाई अगाडि बढाउन सम्भव नरहेको स्पष्ट पारिएको छ। अपिल यहाँ हेर्नुहोस ।
“हामी थकित छौँ, दबाबमा छौँ र अब एक्लै यो यात्रालाई निरन्तरता दिन सक्दैनौँ,” अपिलमा भनिएको छ। समुदायको बलियो साथबिना मन्दिर निर्माणको लक्ष्य अधुरै रहने चेतावनी पनि दिइएको छ।
ANMC ले समुदायलाई सही सूचना आदान–प्रदानमा सहयोग गर्न, मन्दिरको सदस्यता लिन र अरूलाई पनि सदस्य बन्न प्रेरित गर्न, आर्थिक सहयोग (दान) गर्न तथा आफ्नो समय र सीप स्वेच्छिक रूपमा योगदान दिन आग्रह गरेको छ।
अपिलमा ‘जग्गाको अध्याय यहीँ टुंग्याएर मन्दिर निर्माणको नयाँ अध्याय सुरु गरौँ’ भन्ने सन्देश दिँदै पहिलो पुस्ताका आप्रवासी नेपालीहरूले नै यो परियोजना सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ, ताकि आगामी पुस्ताले आफ्ना संस्कार, संस्कृति र पहिचानलाई निरन्तरता दिन सकून्।
अभियान संयोजक कंडेलले केवल शुभेच्छा पर्याप्त नभएको उल्लेख गर्दै व्यवहारिक र प्रत्यक्ष सहयोगको आवश्यकता औँल्याएका छन्। “अहिले नै अघि बढ्ने समय हो,” भन्दै उनले सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।
अध्यात्मिक अभियान सम्बन्धि समाचार यहाँ हेर्नुहोस ।