मेलबर्नमा रिचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगको पाँचौँ संस्करण सम्पन्न

मेलबर्नमा रिचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगको पाँचौँ संस्करण सम्पन्न
नेपालआईज
२१ पुष २०८२ २१:३२

मेलबर्न   / क्रिकेटमार्फत एकता र सहकार्यको सन्देश बोकेको रिचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगको पाँचौँ संस्करण आइतबार मेलबर्नमा सम्पन्न भएको छ। आइतबार एसीटी कुक रिजर्भ मैदानमा सम्पन्न प्रतियोगितामा यस वर्ष १५ वटा क्रिकेट क्लबको सहभागिता रहेको थियो।

प्रतियोगितामा एक्सपर्ट सगरमाथा ब्लुज, सगरमाथा क्रिकेट क्लब, चितवन क्रिकेट क्लब, ब्राइटन भिक्टोरिया क्रिकेट क्लब, फारवेस्ट हन्टर्स, फारवेस्ट रेन्जर्स, रोयल राइनोज, म्याक्सिम्याक्स एभरेस्ट युनाइटेड, गोरखा लायन्स, मेरिट त्रिशुली थन्डर, ट्राइकोन क्रिकेट क्लब, पूर्वाञ्चल क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, टिडब्लुजिजि राइजिङ सन स्पोर्ट्स क्लब तथा काठमाडौँ क्यापिटल्स क्रिकेट क्लब सहभागी थिए।

फाइनल खेलपछि चितवन क्रिकेट क्लब उपाधि विजेता बनेको छ भने ब्राइटन भिक्टोरिया क्रिकेट क्लब उपविजेतामा सीमित भयो। व्यक्तिगत विधातर्फ दिल पगेनीले ‘प्लेयर अफ द सिरिज’ र ‘बेस्ट ब्याटर’ दुवै उपाधि जिते। गुलाम कुदुस खान बेस्ट बलर, सुप्रिम श्रेष्ठ बेस्ट विकेटकिपर तथा आयुष न्यौपाने बेस्ट फिल्डर घोषित भए। यसैगरी र्‍ह्यान बिदुरले एनआरएनए इमर्जिङ प्लेयर अवार्ड प्राप्त गरे।

सन् २०१९ मा क्यान्सरसँगको संघर्षपछि दिवंगत भएकी रिचा श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको यो प्रतियोगिता प्रत्येक वर्षझैँ यसपटक पनि भावनात्मक र प्रेरणादायी बनेको छ। रिचा, एक्सपर्ट सगरमाथा ब्लुजका अध्यक्ष विवेक श्रेष्ठकी धर्मपत्नी हुन्, जसलाई समुदायले उनको साहस, दयालु स्वभाव र सकारात्मक योगदानका कारण स्मरण गर्दै आएको छ।

सानो स्मृति कार्यक्रमका रूपमा सुरु भएको यो लिग हाल समुदायस्तरको प्रतिष्ठित वार्षिक प्रतियोगिताका रूपमा स्थापित भइसकेको छ। क्रिकेटमार्फत खेलाडी, परिवार र समर्थकलाई एकै ठाउँमा जोड्दै जीवन र खेलभन्दा परका मूल्यलाई सम्झनाका रूपमा मनाउने उद्देश्य यस प्रतियोगिताले बोकेको छ।

पाँचौँ वर्षमा प्रवेश गरेको रिचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगले रिचा श्रेष्ठको स्मृतिलाई जीवन्त राख्दै साहस, करुणा र एकताजस्ता मूल्यलाई निरन्तर अघि बढाइरहेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर