राधिका दासी लुम्बिनी–कपिलवस्तु विश्व अभियानको सांस्कृतिक दूत नियुक्त…

राधिका दासी लुम्बिनी–कपिलवस्तु विश्व अभियानको सांस्कृतिक दूत नियुक्त…
नेपालआईज
२७ पुष २०८२ ११:१४

मेलबर्न ।  मेलबर्नस्थित नेपाली मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच चर्चित भागवत मञ्जरी राधिका दासीलाई लुम्बिनी–कपिलवस्तु विश्व अभियानको सांस्कृतिक दूत तथा अष्ट्रेलियामा फोहोरका रूपमा फालिने बोतल संकलन गरी त्यसबाट संकलित रकम नेपालका वातावरणसम्बन्धी कार्यमा प्रयोग गर्ने उद्देश्यले स्थापना गरिएको Recycle to Revive (R2R) की संरक्षक नियुक्त गरिएको छ।

सरकारद्वारा गरिनुपर्ने काम प्रभावकारी रूपमा नभएपछि जनस्तरबाट विश्व अभियान सुरु गरिएको उल्लेख गर्दै अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले १६ वर्षको अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका धेरै उपलब्धि हासिल भएको जानकारी दिए। उनले अभियानले दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई सम्मान गरिसकेको सन्दर्भ उल्लेख गर्दै ब्रह्म, ब्रह्माण्ड र आत्माका रहस्यलाई महापुराणमार्फत उजागर गर्ने तथा राधिका फाउन्डेसनमार्फत दीनदुःखी, सडक बालबालिका एवं महिलाको उद्धार, उपचार र शिक्षामा योगदान पुर्‍याउँदै आएकी राधिका दासीलाई सम्मानस्वरूप अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको बताए।

R2R का महासचिव डा. एकिन्द्र तिमिल्सिनाद्वारा सञ्चालित कार्यक्रममा अध्यक्ष भास्कर रेग्मीले संस्थाको उद्देश्य र हालसम्म भएका गतिविधिबारे जानकारी गराउँदै राधिका दासीलाई संरक्षकको प्रमाणपत्र हस्तान्तरण गरे।

R2R का कार्यकारी सदस्य प्रकाश अर्यालले नयाँ पुस्तालाई अभियानमा सक्रिय रूपमा जोड्ने नीति अख्तियार गर्दा अभिभावकहरू स्वतःस्फूर्त रूपमा जोडिने र यसले नयाँ पुस्तालाई नेपालसँग भावनात्मक रूपमा जोड्न मद्दत गर्ने बताए।

विश्व संयोजक तथा R2R का सल्लाहकार श्रेष्ठले लुम्बिनी विश्व शान्ति मञ्चद्वारा सञ्चालन भइरहेको “दश लाख वृक्षारोपण तथा संरक्षण अभियान” मा ऐक्यबद्धता जनाउँदै R2R ले ५०० डलर सहयोग गर्ने निर्णय गरेको जानकारी दिए। साथै संस्थाका उपाध्यक्ष प्रकाश लामिछाने नेपाल जाने क्रममा उक्त वृक्षारोपण कार्यक्रममा सहभागिता जनाउने बताए।

कार्यक्रममा बोल्दै चर्चित कथावाचिका राधिका दासीले बुद्धले बुद्धत्व प्राप्त गर्न अपनाउनुभएको ध्यान विधि विपश्यनालाई आफूले आठ वर्षको उमेरदेखि अभ्यास गर्दै आएको र अहिले पनि निरन्तरता दिइरहेको बताइन्। उनले नेपाल पर्यटन बोर्डले आफूलाई सांस्कृतिक दूत बनाएको र जापानमा यसै विषयमा तीन दिने कार्यक्रम सम्पन्न गरेको उल्लेख गर्दै बुद्धसम्बन्धी विश्व अभियानमा जोडिन पाउँदा खुसी व्यक्त गरिन्।

प्लास्टिक उत्पादनका क्रममा अत्यधिक प्रदूषण हुने, प्लास्टिकका भाँडामा लामो समय खाना राख्दा स्वास्थ्यमा हानिकारक हुने, प्रयोगपछि जलाउँदा पनि प्रदूषण हुने र प्लास्टिक नष्ट नहुने भएकाले पुनः प्रयोग नै सबैभन्दा उत्तम उपाय भएको राधिका दासीको भनाइ थियो। अष्ट्रेलियामा संकलित रकम नेपालमा वातावरण संरक्षणका लागि मात्र प्रयोग गर्ने उद्देश्य अत्यन्तै प्रशंसनीय रहेको भन्दै उनले संस्थाको पहलको खुलेर प्रशंसा गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर