Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
भिक्टोरियामा धिमे र बाँसुरी सिकाउँदै नेवारी संस्कृति जोगाउँदै…
नेपालआईज
१४ माघ २०८२ ४:०६
मेलबर्न— नेवा पुच: मेलबर्नले नेवा संस्कृतिलाई मेलबर्नमा पनि जीवन्त बनाइराख्ने उद्देश्यसहित सञ्चालन गरेको बाँसुरी तालिम सम्पन्न भएको उपलक्ष्यमा ‘टेस्ट एण्ड ट्युन्स’ कार्यक्रम भव्य रूपमा आयोजना गरेको छ।
मेलबर्नमा बसोबास गर्ने युवा पुस्तालाई लक्षित गर्दै यसअघि छ महिनासम्म धिमे बजाउने तालिम सञ्चालन गरिएको थियो। त्यसपश्चात आठ महिनासम्म चलेको बाँसुरी तालिम सफलतापूर्वक सम्पन्न भएपछि उक्त सांगीतिक प्रस्तुति कार्यक्रम आयोजना गरिएको हो। धिमे कार्यक्रमपछि नेवा पुच: मेलबर्नले मेलबर्नमै पहिलो पटक गाइजात्रा आयोजना गरेको थियो भने गाइजात्रापछि बाँसुरी तालिम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रमको उद्घाटन भिक्टोरियाका लागि नेपाली कन्सुलर निराजन गौली र लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नुभएको थियो। उद्घाटनपछि ध बाजा, धिमे बाजा र बाँसुरी टिम क्रमशः आफ्ना प्रस्तुति सहित हलमा प्रवेश गरेका थिए।
उक्त अवसरमा लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले बाँसुरी तालिमका गुरुहरू सोमु महर्जन र दिपसन पुटुवारलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभयो। धिमे गुरु रफिक महर्जनले संस्थाको तर्फबाट प्रमाणपत्र प्रदान गर्नुभयो। कन्सुलर निराजन गौलीले बाँसुरी कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा लगाइ सम्मान गर्नुभयो भने संस्थाका अध्यक्ष संजिव श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभयो।
कार्यक्रमको अन्त्यतिर तालिममा सहभागीमध्ये तीन विधामा उत्कृष्ट विद्यार्थीहरू छनोट गरिएको थियो। बेस्ट स्टुडेन्टमा अजित प्रधान, कन्सिस्टेन्ट स्टुडेन्टमा दिपीता फैजु र ओभरअल परफर्मर स्टुडेन्टमा सुरज गोसाईं घोषित हुँदै गुरुहरू सोमु महर्जन र दिपसन पुटुवारबाट प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रम संयोजक सचिन महर्जन रहेको उक्त कार्यक्रम सोनिया केसी शाक्यले सञ्चालन गर्नुभएको थियो। लाइभ मंगल धुनसहित अतिथिहरूलाई सम्मान गरिएको कार्यक्रममा नेवारी तथा नेपाली नाचगान प्रस्तुत गर्दै सम्पूर्ण वातावरणलाई नेपालमय बनाइएको थियो।
नेवा पुच: मेलबर्नले आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा सांगीतिक कार्यक्रममार्फत नयाँ पुस्तालाई नेवा संस्कृतिसँग जोडिराख्ने प्रतिबद्धता व्यक्त गरेको छ।