मेलबर्न । अष्ट्रेलियाको इतिहासमा पहिलोपटक सेनाको नेतृत्व महिलाले गर्ने भएकी छन्। प्रधानमन्त्री Anthony Albanese ले नयाँ नियुक्ति घोषणा गर्दै लेफ्टिनेन्ट जनरल सुसन कोयललाई अष्ट्रेलियन आर्मीको प्रमुख (Chief of Army) मा नियुक्त गरिएको जानकारी दिएका हुन्।
सोमबार सार्वजनिक गरिएको निर्णयअनुसार अष्ट्रेलियन डिफेन्स फोर्समा तीन उच्च तहका नेतृत्व परिवर्तन गरिएको छ। जसअनुसार उप–एडमिरल मार्क ह्यामन्ड Chief of the Defence Force र रियर एडमिरल म्याथ्यु बक्ली Chief of Navy नियुक्त भएका छन्।
यी नियुक्तिहरू गभर्नर–जनरल Sam Mostyn को औपचारिक स्वीकृतिपछि जुलाई २६ देखि कार्यान्वयनमा आउनेछन्।
लेफ्टिनेन्ट जनरल कोयल अष्ट्रेलियन सेनाको १२५ वर्षे इतिहासमा पहिलो महिला आर्मी प्रमुख बन्ने भएकी छन्। उनी हाल डिफेन्स फोर्सको ‘इन्डिजिनस च्याम्पियन’मध्ये एकका रूपमा कार्यरत रहँदै आएकी छन्, जसले आदिवासी समुदायको सहभागिता र अवसर विस्तारका लागि काम गर्दै आएको छ।
प्रधानमन्त्री अल्बानेसेले अष्ट्रेलियन सेनाले देशको सुरक्षामा निरन्तर महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नयाँ नियुक्तिहरूप्रति खुशी व्यक्त गरेका छन्। उनले अवकाश लिन लागेका वर्तमान नेतृत्वलाई सेवाका लागि धन्यवाद दिएका छन्।
सन् १९८७ मा आर्मी रिजर्भबाट आफ्नो सैन्य यात्रा सुरु गरेकी कोयलले आफूलाई यो जिम्मेवारी दिइएकोमा “गर्व र विनम्रता” महसुस भएको बताएकी छन्। उनले सैनिक र उनीहरूको परिवारलाई साथ दिँदै सेनाको जिम्मेवारी प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
हाल Chief of Navy रहेका ह्यामन्डले अवकाश लिन लागेका एडमिरल डेविड जोनस्टनलाई प्रतिस्थापन गर्नेछन् भने वर्तमान आर्मी प्रमुख लेफ्टिनेन्ट जनरल साइमन स्टुअर्ट पनि अवकाश लिँदैछन् ।
Header image: Left, Susan Coyle (ADF). Right, Coyle with Deputy PM Richard Marles and Anthony Albanese (PMO)