भिक्टोरिया (अस्ट्रेलिया) । अस्ट्रेलियाको मेलबर्नमा आगामी मे महिनादेखि ‘सीबीएसइ लेजेन्ड्स लिग सकर कप २०२६’ (CBSC Legends League Soccer Cup 2026) आयोजना हुने भएको छ। क्रेगीबर्न ब्रिगेड स्पोर्ट्स क्लब (CBSC) को आयोजनामा नर्थ मेलबर्नस्थित प्रोग्रेस रिजर्भ (Progress Reserve) को मैदानमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो।
विशेष गरी ३५ वर्षभन्दा माथिका भेट्रान (मास्टर्स) खेलाडीहरूलाई लक्षित गरी आयोजना गरिएको यो प्रतियोगिता ११ सातासम्म चल्नेछ। आयोजकका अनुसार मे महिनादेखि सुरु हुने लिगका खेलहरू प्रत्येक शनिबार साँझ ५:०० बजेदेखि राति ८:३० बजेसम्म फ्लडलाइटमुनि खेलाइनेछ। प्रतियोगिताको बहुप्रतिक्षित ग्राण्ड फाइनल भने आगामी जुलाई १९, २०२६ मा हुने तय भएको छ।
६ चर्चित क्लब र १०८ खेलाडी भिड्ने
यस पटकको लिगमा मेलबर्नमा रहेका नेपाली तथा बहुसांस्कृतिक समुदायका स्थापित ६ वटा क्लबहरूले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा कुल १०८ जना खेलाडीहरू दर्ता भई विभिन्न टोलीबाट मैदान उत्रने आयोजकले जनाएका छन्।
सहभागी टोलीहरू:
क्रेगीबर्न ब्रिगेड स्पोर्ट्स क्लब (CBSC)
द हिमालयन टाइगर्स (The Himalayan Tigers)
हिमालयन एफसी (Himalayan FC)
रोयल वेस्र्टन्स क्लब (Royal Westerns Club)
एभरेष्ट यूसी (Everest UC)
एपिङ वोर्लट नेपलिज एससी (Epping Wollert Nepalese SC)
यी टोलीहरूले प्रतिष्ठित उपाधिका लागि ११ सातासम्म प्रतिस्पर्धात्मक खेलहरू खेल्नेछन्।
खेलमार्फत सामुदायिक एकता र स्वास्थ्यको सन्देश
यो प्रतियोगिता केवल हार-जित र फुटबल खेलमा मात्र सीमित नरही यसको उद्देश्य वृहत् रहेको आयोजकको भनाइ छ। लामो समयदेखि खेलमैदान भन्दा बाहिर रहेका पुराना सहकर्मी खेलाडीहरूलाई पुनः एकै ठाउँमा एकत्रित गराउने, नयाँ मित्रता निर्माण गर्ने र नयाँ पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने मुख्य लक्ष्य राखिएको छ। यसका साथै खेलमार्फत स्वास्थ्य, आपसी मित्रता र नेपाली समुदायबीचको एकतालाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ।
क्रेगीबर्न ब्रिगेड स्पोर्ट्स क्लबका प्रतिनिधिहरूका अनुसार मेलबर्नको नेपाली समुदायमा मास्टर्स फुटबलको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ र यस प्रतियोगितालाई लिएर खेलाडी तथा समर्थकहरूमा निकै उत्साह देखिएको छ। हरेक शनिबार साँझ खेलका साथै पारिवारिक मनोरञ्जन र उत्कृष्ट खेल भावना प्रतियोगिताको मुख्य आकर्षण रहनेछ।
अनुभवी खेलाडीहरूको मैदानमा पुनरागमन र स्थानीय क्लबहरूको प्रतिष्ठा जोडिएका कारण यस वर्षको ‘सीबीएसइ लेजेन्ड्स लिग’ अस्ट्रेलियाकै एक उल्लेखनीय सामुदायिक खेलकुद कार्यक्रम बन्ने अपेक्षा गरिएको छ। आयोजकले मेलबर्नवासी सम्पूर्ण फुटबलप्रेमी नेपालीहरूलाई मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन र खेलको आनन्द लिन हार्दिक अपिल समेत गरेको छ।