भिक्टोरिया । ब्यालारेट नेपाली समाजले सन् २०२५–२०२७ का लागि नयाँ कार्यकारी समिति गठन गरेको छ। यस समितिले ब्यालारेटमा बसोबास गर्ने नेपाली समुदायको हक हित र सशक्तीकरणका लागि काम गर्नेछ।
नवगठित कार्यसमितिमा अध्यक्षमा डोल्मा तामाङ, प्रथम उपाध्यक्षमा रिता सापकोटा र दोस्रो उपाध्यक्षमा सुशील कुमार पाण्डे निर्वाचित हुनुभएको छ। सचिवको जिम्मेवारीमा योगेन्द्र कुमार कर्ण र कोषाध्यक्षमा अन्जना अधिकारी रहनुभएको छ।
यसैगरी, सदस्य सेवा तथा संस्थागत विकास हेर्ने जिम्मेवारी विशाल ढकाललाई दिइएको छ भने भाषा तथा संस्कृति विभागको नेतृत्व तारा सापकोटाले गर्नुहुनेछ। खेलकुद, स्वास्थ्य तथा हितकल्याण विभागको जिम्मेवारी सन्तोष खनालमा र सञ्चार तथा मिडिया विभाग अश्विन घलेको जिम्मामा रहेको छ।
समितिका अनुसार जातीय तथा बहुसांस्कृतिक सम्पर्क, बालबालिका–युवा तथा जेष्ठ नागरिक कार्यक्रम, र व्यावसायिक तथा मानवीय सहयोग विभागका पदहरू हाल रिक्त रहेका छन्।
समाजका पदाधिकारीहरूले समुदायका सदस्यहरूलाई सुझाव, प्रतिक्रिया वा सहयोगका लागि समितिका सदस्यहरूसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ। साथै, रिक्त रहेका पदहरूमा योगदान दिन चाहने इच्छुक व्यक्तिहरूलाई पनि समितिमा जोडिन आह्वान गरिएको छ।
“सँगै मिलेर हामीले एक बलियो र एकआपसमा जोडिएको समुदाय निर्माण गर्न सक्छौं,” समितिले भनेको छ।