Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
पुटिनसँगको वार्ताको लागि तयार छु, वार्ता विफलको अर्थ ‘तेस्रो विश्वयुद्ध’ : जेलेन्स्की
नेपालआईज
७ चैत २०७८ ३:२५
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्ता मार्फत युद्धको समाधान गर्नुको विकल्प नरहेको बताएका छन् । वार्ताको असफलताको अवस्थामा रुसी आक्रमणले ‘तेस्रो विश्वयुद्ध’ को रुप लिने बताएका छन् ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा वार्ताका लागि तयार रहेको बताएका हुन् ।
उनले पुटिनसँगको वार्ता युद्ध अन्त्य गर्ने एक मात्र विकल्प रहेको बताए । उनले भनेका छन्, ‘वार्ताको सम्भावनाका लागि हामीले कुनै पनि संरचना प्रयोग गर्न सकिन्छ ।’
तर रुसको समर्थन पाएका पृथकतावादी क्षेत्रलाई स्वतन्त्र घोषणा गर्नु पर्ने रुसी मागमा भने आफूहरु सहमत हुन नसक्ने जेलेन्स्कीले स्पष्ट पारेका छन् ।
जेलेन्स्कीले आफ्नो देश युक्रेन सैन्य गठबन्धन नेटोको सदस्य राष्ट्र भएको भए अहिलेको युद्ध सुरु नै नहुने आफ्नो विश्वास रहेको बताए । ‘यदी नेटो सदस्यहरु हामीलाई साझेदारका रुपमा देख्न चाहन्छन् भने चाँडो गरुन् । किनकी दैनिक रुपमा मानिसहरु मारिएका छन्’, उनले भनेका छन् ।
रुस र युक्रेनबीच हालसम्म भएका वार्ताले ठोस निष्कर्ष निकाल्न सकेका छैनन् । जेलेन्स्कीले सुरुदेखि नै पुटिनसँगको वार्ताका लागि जोड दिँदै आएका छन् ।