छत्र शंकर-
बाल्यकालका ती मधुर सम्झनाहरू अझै हाम्रो मानसपटलमा ताजै छन्। बुबाले हाम्रो लागि ठूलो माया र आशाका साथ किनिदिनुभएको त्यो रेडियो, हाम्रो परिवारको एउटा अभिन्न अंग जस्तै बन्यो। त्यतिवेला करिब ४९/५० सालतिर बुबाले इन्डियन लाहुरेसँग पाँच हजार रूपैयाँ खर्च गरेर त्यो रेडियो ल्याइदिनुभएको थियो। त्यो रेडियो केवल एउटा साधारण यन्त्र थिएन, त्यो त हाम्रो परिवारको सूचना, मनोरञ्जन र सिकाइको ढोका थियो।
हामी खेतीपाती सकेर साँझमा खाना खाएपछि बिबिसी रेडियोको समाचार सुनेर मात्रै सुत्ने बानी बसाल्यौं। बिहान सात बजेको समाचार सुन्दै बस्तुभाउलाई घाँसपात गर्ने हाम्रो दैनिकी बन्यो। रेडियोमा सुनेका समाचारहरू बिहानको चियासँगै वा बेलुकीको खानामा परिवारभित्र छलफलको विषय बन्थे। राजनीति, समाज, र संसारका घटनाक्रमबारे हाम्रो ज्ञान त्यही रेडियोबाट विस्तार भयो।
हाम्रो परिवारमा रेडियो केवल प्रविधि थिएन, त्यो हाम्रो शिक्षालय थियो। आमाले हरेक बिहान र बेलुका रेडियो खोल्न र समाचार सुन्न सधैं प्रेरित गर्नुहुन्थ्यो। रेडियोले हाम्रो सोचाइ, बुझाइ र दृष्टिकोणलाई फराकिलो बनायो। रेडियो क्यासेटमा हामीले मदन भण्डारीका प्रेरक भाषणहरू सुन्ने गथ्र्यौं। छिमेकका किशोरचन्द्र दुलालकहाँ भएका भाषणका क्यासेटहरू ल्याएर रेडियोमा घन्काइन्थ्यो। ती शब्दहरूले हाम्रो चेतनामा गहिरो छाप छोडे।
सायद आज म पत्रकारितामा छु, दाजु उपसचिव हुनुहुन्छ, एउटी दिदी अन्तर्राष्ट्रिय संस्थामा कार्यरत हुनुहुन्छ, र अर्की दिदी शिक्षिकाको भूमिकामा हुनुहुन्छ—यी सबै रेडियोको देन हो।
त्यो रेडियो त अब पुरानो भइसक्यो, तर त्यसले बोकेको माया, शिक्षा र प्रेरणा आजसम्म हाम्रो जीवनमा नयाँ ऊर्जा बनेर जीवित छ। बुबाले दिएको त्यो सानो उपहारले हाम्रो परिवारको भविष्य निर्माण गर्यो। त्यो रेडियो हाम्रो बाल्यकालको साथी मात्र होइन, भविष्य निर्माणको आधार पनि रह्यो।