ब्रिसबेन/ अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यका प्रिमियर डेभिड क्रिसफुल्लीले नेपालको पछिल्लो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले नेपाली एसोसिएसन अफ क्वीन्सल्याण्डलाई पठाएको पत्रमार्फत क्वीन्सल्याण्डमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरूको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
पत्रमा प्रिमियर क्रिसफुल्लीले क्वीन्सल्याण्डमा करिब १२ हजार नेपाली मूलका व्यक्ति र १० हजारभन्दा बढी नेपालमा जन्मिएका बासिन्दाको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै उनीहरूको हित र सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताए।
“हाम्रो सरकार क्वीन्सल्याण्डमा बहुसांस्कृतिक समुदायहरूसँग बलियो सम्बन्ध निर्माण गर्न, साझा सम्पदाको सम्मान गर्न र समावेशिता, सामाजिक एकता र सुरक्षालाई बढावा दिन सम्बन्ध, कार्यक्रम र पहलहरूमा लगानी गर्न प्रतिबद्ध छ,” पत्रमा भनिएको छ।
यसअघि नेपालमा भइरहेको प्रदर्शन र अस्थिरताले प्रवासी नेपाली समुदायमा चिन्ता थपिएको सन्दर्भमा प्रिमियरले नेपालको अवस्थाप्रति सहानुभूति प्रकट गरेका हुन्।