सर्वसाधारणको आश्रयस्थलमा रुसी निशाना : एकै स्थानमा ३०० जनाको मृत्यु

सर्वसाधारणको आश्रयस्थलमा रुसी निशाना : एकै स्थानमा ३०० जनाको मृत्यु
नेपालआईज
१२ चैत २०७८ ३:०६

घेराबन्दीमा रहेको युक्रेनी सहर मारिपोलमा रुसले गरेको गोलाबारीमा परी आश्रय लिई बसेका करिब ३०० जनाको मृत्यु भएको छ । रुसी आक्रमणबाट जोगिन सर्वसाधारण नागरिक मारिपोलस्थित थिएटरको अण्डरग्राउण्डमा आश्रय लिएर बसेका थिए ।

रुसले थिएटरलाई निशाना बनाएर गोलाबारी गरेका बेला करिब ६०० सर्वसाधारण अन्डरग्राउण्ड आश्रयस्थल लिएर बसेको मारिपोलका मेयरका सल्लाहकार पेत्र एन्द्रयुचेन्कोले बताएको बीबीसीले उल्लेख गरेको छ । रुसले मारिपोलको सो थिएटरमा मार्च १६ मा गोलाबारी गरेको थियो।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। मारिपोलको थिएटरमा भएको आक्रमण अहिलेसम्म जानकारीमा आएका घटनामध्ये एकै स्थानमा रुसी आक्रमणका कारण सबैभन्दा धेरै मानिसको ज्यान गएको घटना हो।

रुसी सैनिकको घेराबन्दीमा रहेको मारिपोल सहरको सञ्चार सेवा अधिकांश रुपमा काटिएको छ। पानी, खाद्यान्न तथा औषधिसहितका अत्यावश्यक सेवाको चरम अभाव छ। रुसी आक्रमणका कारण मारिपोलका ८० प्रतिशत आवासीय क्षेत्र ध्वस्त भएका छन्।

थिएटरमा भएको आक्रमणको सर्वत्र निन्दा हुँदै आएको छ। तर रुसले भने आफूले आक्रमण नगरेको दाबी गर्दै आएको छ। आक्रमण हुँदाको समयमा थिएटरको बाहिर ‘बालबालिका’ ठूलो अक्षरमा लेखिएको थियो। त्यो देखेर पनि आक्रमण भएको र यो युद्ध अपराध रहेको युक्रेनले बताउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर