नेपालले गर्‍यो थप दुई देशसँग कूटनीतिक सम्बन्ध कायम

नेपालले गर्‍यो थप दुई देशसँग कूटनीतिक सम्बन्ध कायम
नेपालआईज
३० चैत २०७८ १२:१९

काठमाडौँ– नेपालले थप दुई देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ। परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताएकी हुन्।

उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । यससँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ। प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा आएको प्रस्तावमाथि सरकारले महत्वका आधारमा भोट गरेको बताइन्।

उनले नेपालले राष्ट्रसंघको निकाय भएको मतदानमा अहिलेसम्म भएका ४ भोट युक्रेनको पक्षमा हालेको पनि बताइन्।

प्रवक्ता लम्सालले भनिन्, ‘पछिल्लो समय रुस र युक्रेनबीच जोडिएका विषय पनि धेरै आएका छन्। हामी मानवअधिकार परिषद्को सदस्य भएको हिसाबले अहिले युएनमा इमर्जेन्सी स्पेसल सेसन चलिरहेको छ। १७औँ सेसन चलिरहेको छ। त्यसमा विभिन्न विषयमा छलफल पनि भइरहेको छ। त्यसमा नेपालले आफ्नो मत अभिमत, आफ्नो धारणा कन्ट्रीको पोजिसन, मन्तव्य, वक्तव्य सबै जारी गर्दै आएको छ। विभिन्न सवालमा हामीले मेरिटका आधारमा आफ्नो मत जाहेर गर्दै आएका छौँ। हामीले महत्वका आधारमा ४ वटा ठाउँमा युक्रेनको पक्षमा भोट गरेका छौँ। २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम गरेका छौँ। अब १७६ मुलुकसँग हाम्रो कूटनीतिक सम्बन्ध कायम भएको छ।’

प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालिरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने पनि बताइन्।

प्रवक्ता लम्सालले नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको समेत बताएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर