किएभ । रुसले युक्रेनको राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ। रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो ।
युक्रेनी हेलिकप्टरले आफ्नो गाउँमा आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसको जवाफमा रुसले युक्रेनको राजधानी किएभ नजिकैको सैन्य उद्योगमा शुक्रबार मिसाइल प्रहार गरेको हो ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले आफूहरुले युक्रेनी सैन्य उद्योगलाई निशाना बनाएको बताएका हुन् । युक्रेनले भने आफूले रुसी क्षेत्रमा आक्रमण नगरेको बताउँदै आएको छ ।
एन्टी–एयरक्राफ्ट र एन्टी–सिप मिसाइल प्रणालीको उत्पादन तथा मर्मत गर्ने सैन्य उद्योगमा रुसले आक्रमण गरेको हो । रुसी गाउँ क्लीमोभोमा बिहीबार युक्रेनले दुई हेलिकप्टर मार्फत बम खसालेको आरोप छ । सो घटनामा ८ जना घाइते भएको रुसको दाबी छ ।
तर युक्रेनले भने आफूले आक्रमण नगरेको बताउँदै आएको छ । युक्रेन विरोधी भावना फैलाउनका लागि रुसले आक्रमण आरोप आफूहरुमाथि लगाएको युक्रेनी अधिकारीको भनाइ छ । एजेन्सीको सहयोगमा