सिड्नी । प्रवासी नेपाली मच्च अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाललाई बाँकी जीवन अस्ट्रेलियामा भएका छोरासँग बिताउन सुझाव दिएका छन् ।
एक चुनावी सभामा समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले चुनावपछि देश छोड्नु पर्ने अवस्था आउने अभिव्यक्ति दिएपछि एमालेको प्रवासी सङ्गठन निकटका कार्यकर्ताहरूले माधव नेपालमाथि सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
अस्ट्रेलिया निवासी तथा ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले माधव नेपालप्रति आक्रोश व्यक्त गर्दै सामाजिक संजाल मार्फत भनेका छन्, ‘तपाइ माधव नेपाल खुरुक्क अस्ट्रेलिया आए हुन्छ। बाँकी जीवन छोरा सित बिताउने सल्लाह दिन्छु।’ इन्जिनियर पृष्ठभूमिका नेपालका छोराले सिधै पिआर लिएर हाल अस्ट्रेलियामा रहेको पाण्डेले बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चुनाव जिते देश छाडेर हिँड्नुपर्ने अवस्था आउने दाबी गरेका थिए । सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको भेलामा बोल्दै नेता नेपालले ओलीलाई हेर्दा नयाँ तान शाह र हिटरको जन्म भएजस्तो लाग्ने बताउँदै उनीसँग होसियार हुनुपर्ने बताए ।