Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नेपाली उद्यमीलाई समेट्न सिड्नीमा चार सय युवा जुट्ने, उद्घाटन अर्थमन्त्री वाग्लेले गर्ने
नेपालआईज
२ साउन २०८३ २२:५९
सिड्नी / फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिने ) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई २४ र २५ तारिख (२०२६) मा सिड्नीस्थित सोफिटेल होटेलमा ‘अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन’ (I-YES 2026) आयोजना हुने भएको छ। ‘इनोभेसन, इन्क्लुजन र इम्प्याक्ट’ नारा दिइएको उक्त सम्मेलनको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट गर्दै विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
फिने अष्ट्रेलियाकी अध्यक्ष तथा सम्मेलन संयोजक सुजाता चालिसेका अनुसार, विश्वभर छरिएर रहेका नेपाली उद्यमी, लगानीकर्ता, नीति निर्माता, बैंकिङ क्षेत्रका नेतृत्वकर्ता, प्रविधि विशेषज्ञ तथा नवप्रवर्तकहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो। सम्मेलनले आर्थिक उन्नति र उद्यमशीलताका विषयमा विचार–मन्थन, अनुभव आदानप्रदान तथा भविष्यको मार्गचित्र निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। आफ्नै उद्यम वा व्यवसाय सुरु गर्ने सोच राखेका युवाहरू यसबाट विशेष रूपमा लाभान्वित हुने र उनीहरूले भोगेका समस्याको व्यावहारिक समाधान खोजिने चालिसेले जानकारी दिइन्।
दुई दिनसम्म चल्ने यस सम्मेलनमा नेपाल र विदेशमा रहेर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका विशिष्ट व्यक्तित्वहरूले आफ्ना अनुभव र विशेषज्ञता साझा गर्नेछन्। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, फोर्ब्सको ‘३० अन्डर ३० युएस २०२६’ सूचीमा समावेश युवा अजर राजभण्डारी, मानसिक स्वास्थ्यसम्बन्धी प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’की संस्थापक श्रेया गिरी, डेटा वैज्ञानिक डा. भोजराज घिमिरे, बुरवुड सिटी काउन्सिलकी काउन्सिलर सुकीर्ति भट्ट र युनिभर्सिटी अफ न्यु साउथ वेल्सका प्राध्यापक कृष्णकुमार श्रेष्ठलगायतले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। यसका अतिरिक्त काजल नैना राई, सयना ढकाल, रन्जु वाग्ले थापा, निकोल अब्राहम, निशान्त शर्मा, निरज खनाल लगायतका प्रतिष्ठित वक्ताहरूले युवा उद्यमशीलताको प्रवर्द्धन, भावी नेतृत्व विकास, तथा व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल मार्केटिङको प्रयोगजस्ता समसामयिक विषयमा प्यानल छलफल गर्नेछन्।
सम्मेलनको उद्घाटन सत्रमा भर्चुअल माध्यमबाट जोडिन लागेका अर्थमन्त्री डा. वाग्लेले नेपाल सरकारका तर्फबाट युवा उद्यमशीलताको प्रोत्साहन, विकास र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा आफ्नो धारणा राख्नेछन्। उनको सम्बोधन मुख्यतया नेपालको आर्थिक रूपान्तरण, नवप्रवर्तन, लगानीको अनुकूल वातावरण, प्रवासी नेपालीको योगदान र विश्वव्यापी नेपाली व्यावसायिक सञ्जालको सम्भावनामा केन्द्रित रहने अपेक्षा गरिएको छ।
फिने अष्ट्रेलियाका महासचिव कमल सिलवालले यस सम्मेलनमा चार सयभन्दा बढी उद्यमी तथा उद्यमशीलताको सोच राख्ने युवाहरूको सहभागिता रहने जानकारी दिए। विश्वभरका नेपाली युवा उद्यमी र व्यवसायीहरूबीच प्रभावकारी अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्न सिड्नी सम्मेलन एउटा महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने उनको भनाइ छ। नेपाल र प्रवासी नेपाली समुदायबीच व्यापार, लगानी, प्रविधि तथा ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्न र नेपाली उत्पादन, सेवा तथा प्रतिभालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सम्मेलन निकै फलदायी हुने महासचिव सिलवालले स्पष्ट पारे।