आध्यात्मिक ज्ञान: उपेक्षित तर अमूल्य जीवनशिक्षा

हामीमध्ये धेरैले आध्यात्मिक ज्ञानलाई जीवनको उत्तरार्धसँग जोडेर हेर्ने गर्छौं। सामान्यतया मानिसहरू सोच्ने गर्छन् जब जिम्मेवारीहरू पूरा हुन्छन्, सन्तान हुर्किन्छन्, जागिरबाट अवकाश लिइन्छ वा बुढ्यौली सुरु हुन्छ, तब मात्र आध्यात्मिकताबारे सोच्ने समय आउँछ। तर के वास्तवमै आध्यात्मिक ज्ञान बुढेसकालका लागि मात्र आवश्यक विषय हो?
यदि आध्यात्मिक ज्ञानले जीवनलाई दिशा दिन्छ, नैतिक आधार निर्माण गर्छ र मानसिक शान्ति प्रदान गर्छ भने यसको आवश्यकता जीवनको अन्त्यतिर होइन, सुरुदेखि नै हुनुपर्ने होइन र?
आजको संसारमा भौतिक उपलब्धि, प्रतिस्पर्धा र सफलताको दौड पहिलेभन्दा तीव्र छ। विद्यालय र विश्वविद्यालयहरूले जीविकोपार्जनका लागि आवश्यक ज्ञान र सीप दिन्छन्। तर एउटा महत्वपूर्ण प्रश्न अझै बाँकी छ: जीवन कसरी जिउने भन्ने शिक्षा हामीले कहाँबाट प्राप्त गर्छौं? यही प्रश्नको उत्तर आध्यात्मिक शिक्षाले दिन्छ।
हाम्रो समाजमा ‘आध्यात्म’ भन्नेबित्तिकै प्रायः धर्म, कर्मकाण्ड वा धार्मिक अनुष्ठान बुझ्ने गरिन्छ। तर आध्यात्मिकताको दायरा त्योभन्दा धेरै फराकिलो, विशाल र गहन छ। यो केवल धार्मिक अभ्यास होइन, बरु आफू, समाज र समग्र जीवनलाई सही दृष्टिकोणबाट बुझ्ने चेतनायात्रा हो। आत्मबोध, आत्मचिन्तन, नैतिकता, करुणा र चेतनशीलताको विकासमार्फत जीवनको अर्थ र उद्देश्य खोज्ने प्रक्रिया नै आध्यात्मिकता हो।
आध्यात्मिक ज्ञानको आवश्यकता आज झन् सान्दर्भिक देखिन्छ। विज्ञान, प्रविधि र भौतिक विकासले मानव जीवनलाई धेरै सहज बनाएको छ, तर जीवनको उद्देश्य, आन्तरिक सन्तुष्टि र नैतिक दिशाबोधको प्रश्न अझै उत्तिकै महत्वपूर्ण छ। मानव जीवनको सार्थकता केवल भोजन, वस्त्र र सन्तान वृद्धिमा मात्र सीमित छैन। यी आवश्यकताहरू त पशुपक्षीहरूले पनि सहज रूपमा पूरा गर्छन्। तर मानव हुनुको वास्तविक महत्त्व आफ्नो अस्तित्वको रहस्य, जीवनको उद्देश्य र परम सत्यको खोजीमा निहित छ। यस प्रकारको उच्च चेतना र व्यापक दृष्टिकोण प्राप्त गर्न आध्यात्मिक ज्ञान अपरिहार्य मानिन्छ।
आध्यात्मिक ज्ञानले “म को हुँ?”, “मेरो जीवनको उद्देश्य के हो?” र “म किन यहाँ छु?” जस्ता आधारभूत प्रश्नहरूसँग साक्षात्कार गराउँछ। यही खोजले व्यक्तिलाई उद्देश्यपूर्ण सार्थक जीवनतर्फ डोर्याउँछ।
आज संसारभर मानसिक तनाव, चिन्ता र असन्तुष्टिका समस्या बढिरहेका छन्। धन, शक्ति वा प्रसिद्धिले क्षणिक आनन्द त दिन सक्छन्, तर स्थायी शान्ति र सन्तुष्टि दिन सक्दैनन्। आखिर, भौतिक रूपमा सफल भएर पनि भित्री रूपमा असन्तुष्ट रहने जीवनलाई पूर्ण सफलता भन्न सकिन्छ र? आध्यात्मिक शिक्षाले व्यक्तिलाई बाहिरी उपलब्धिभन्दा भित्री सन्तुलनको महत्व बुझाउँछ र मनलाई शान्त तथा स्थिर राख्न सहयोग पुर्याउँछ।
आध्यात्मिकताको अर्को महत्वपूर्ण पक्ष नैतिक मूल्यहरूको विकास हो। दया, सत्यनिष्ठा, विनम्रता, सहिष्णुता र क्षमाशीलता जस्ता गुणहरू कुनै पनि सभ्य समाजका आधार हुन्। तर आजको बढ्दो प्रतिस्पर्धा र स्वार्थकेन्द्रित वातावरणमा यस्ता मूल्यहरू क्रमशः कमजोर बन्दै गएको अनुभव गर्न सकिन्छ। के हामीले भौतिक सफलताको खोजीमा मानवीय मूल्यहरूलाई ओझेलमा पारेका त छैनौँ? आध्यात्मिक ज्ञानले व्यक्तिलाई सफल मात्र होइन, असल मानिस बन्न प्रेरित गर्छ।
आध्यात्मिक ज्ञानले लोभ, मोह र अहंकारमाथि नियन्त्रण गर्न पनि मद्दत गर्छ। उपभोक्तावाद र प्रतिष्ठाको दौडमा मानिसले कहिलेकाहीँ आफ्नो वास्तविक खुसी नै बिर्सिने अवस्था आउँछ। आध्यात्मिक चेतनाले व्यक्तिलाई आफ्ना कमजोरीहरू पहिचान गर्न, आत्मनियन्त्रण विकास गर्न र विवेकपूर्ण जीवन जिउन सक्षम बनाउँछ।
आजको समाजमा मानवीय सम्बन्धहरू कमजोर बन्दै गएका छन्। सामान्य असमझदारी र संवादको अभावले समेत श्रीमान्–श्रीमतीबीचको सम्बन्ध विच्छेदसम्मको अवस्था निम्त्याइरहेको देखिन्छ। यस्तो चुनौतीपूर्ण परिवेशमा आध्यात्मिक ज्ञानले सम्बन्धहरूमा विश्वास, सम्मान र आत्मीयताको आधार बलियो बनाउँदै सौहार्दपूर्ण सहअस्तित्वको मार्ग प्रशस्त गर्छ। आफूलाई बुझ्न सक्ने व्यक्तिले अरूका भावना र दृष्टिकोणलाई पनि सम्मान गर्न सिक्छ। सहानुभूति, करुणा र समझदारीको विकाससँगै परिवार, साथीभाइ र समाजसँगको सम्बन्ध थप सौहार्दपूर्ण बन्छ। जीवनका असफलता, निराशा, रोग वा अन्य कठिन परिस्थितिहरूमा पनि यसले धैर्य, आत्मबल र सकारात्मक दृष्टिकोण प्रदान गर्छ।
अन्ततः आध्यात्मिकता आत्मविकासको निरन्तर यात्रा हो। यसले अरूलाई दोष दिनुभन्दा पहिले आफ्नै सोच, व्यवहार र निर्णयहरूको समीक्षा गर्न प्रेरित गर्छ। आत्मचिन्तनको यही प्रक्रियाबाट व्यक्ति क्रमशः परिपक्व, जिम्मेवार र सन्तुलित बन्दै जान्छ। त्यसैले आध्यात्मिक ज्ञान कुनै विलासिता होइन; यो अर्थपूर्ण, नैतिक र पूर्ण जीवन निर्माण गर्ने आधारभूत जीवनशिक्षा हो।
आज हामीले विज्ञान र प्रविधिमा उल्लेखनीय प्रगति गरेका छौँ। तर के हामीले समान रूपमा आफ्नो भित्री विकास, नैतिक चेतना र आत्मबोधलाई पनि प्राथमिकता दिएका छौँ? हामी सफल बन्ने प्रयासमा छौँ, तर के हामी सन्तुष्ट पनि छौँ? हामीले बाहिरी संसारलाई जित्ने कला सिक्यौँ, तर के आफूलाई चिन्ने प्रयास गरेका छौँ?
समृद्ध समाज केवल आर्थिक विकासले निर्माण हुँदैन; त्यसका लागि चेतनशील, चरित्रवान र आत्मबोधयुक्त नागरिक आवश्यक पर्छन्। भौतिक शिक्षाले जीविकोपार्जन सिकाउँछ, आध्यात्मिक शिक्षाले जीवन जिउन सिकाउँछ।
अब प्रश्न हामी सबैका लागि छ:
के आध्यात्मिक ज्ञान बुढेसकालमा मात्र चाहिने विषय हो, वा जीवनको सुरुआतदेखि नै यसको महत्व बुझेर हामी आफू र समाजलाई अझ सन्तुलित, जिम्मेवार र मानवीय बनाउन सक्छौँ?
डा. नबराज मुडवरी शिक्षाशास्त्रमा विद्यावारिधि प्राप्त शिक्षाविद् तथा लेखक हुन्। विद्यालय, कलेज र विश्वविद्यालय तहको शिक्षण तथा शैक्षिक नेतृत्वमा दुई दशकभन्दा बढी अनुभव भएका उहाँ शिक्षा, समाज र अध्यात्मका विषयमा नियमित रूपमा कलम चलाउनुहुन्छ।

समय सन्दर्भ लख
Thank you Dinesh ji. Regards, Nabaraj
धेरै राम्रो लेख ! अहिले को सन्दर्भ मा यो ज्ञान हुनु आवश्यक छ जहाँ मानव मा मानवीयता हराउदै गएको छ !!
Thank you Keshav ji. Regards, Nabaraj