टी–२० विश्वकपको दोस्रो खेलमा भारतद्वारा नेदरल्याण्ड पराजित

टी–२० विश्वकपको दोस्रो खेलमा भारतद्वारा नेदरल्याण्ड पराजित
नेपालआईज
१० कार्तिक २०७९ २३:२८

अस्ट्रेलियामा जारी आईसीसी टी–२० क्रिकेट अन्तर्गत सुपर १२ को दोस्रो खेलमा भारतले नेदरल्याण्डलाई ५६ रनले पराजित गरेको छ । जितको लागि भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमात्र बनाएपछि भारतले ५६ रनले खेल जितेको हो ।

भारतीय बलरसामु निरिह साबित भएको नेदरल्याण्डको ब्याट्सम्यानहरू कुनैले पनि राम्रो ब्याटिङ गर्न सकेनन् । उसका लागि टिम प्रिंगलले सर्वाधिक २० रन बनाए । बलिङतर्फ भारतका फास्ट बलर भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरे । उनले  ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए । त्यसैगरी रविचन्द्रन आश्विन, अक्षर पटेल र अर्शदीप सिंहले समान २–२ विकेट लिए भने मोहमद शामीले १ विकेट हात पारे । अलराउन्डर हार्दिक पान्ड्याले कुनै विकेट लिन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रेको भारतीय टोलीले उत्कृष्ट ब्याटिङ गर्न सफल भयो । उसका लागि तीन ब्याट्सम्यानहरूले अर्धशतकीय पारी खेले । ओपनर केएल राहुललाई ९ रनमा गुमाएको भारत अर्का ओपनर एवं कप्तान रोहित शर्माले भने आकर्षक अर्धशतकीय पारी खेले उनले ३९ बलमा ४ चौका ३ छक्कासहित ५३ रन बनाए । उनलाई फ्रेड कालास्सेनले कोलिन एक्करमेनद्वारा क्याच आउट गराए ।

त्यसै गरी पूर्व कप्तान विराट कोहलीले पनि आकर्षक अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ३ चौका र २ छक्का हिर्काउँदै ६२ रनका साथ नटआउट रहे । सूर्यकुमार यादवले तुफानी ब्याटिङ गर्दै ५१ रनको अर्को अर्धशतकीय पारी खेले । २५ बलमात्र खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । खेलको म्यान अफ द म्याच पनि उनी नै भए । यो जितसँगै भारत समूह २ मा ४ अङ्कसहित शीर्षस्थानमा रहन सफल भएको छ भने पराजित नेदरल्यण्डले कुनै अङ्क जोड्न सकेको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर