भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण

भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण
नेपालआईज
६ भदौ २०८० १२:००

भारत । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयान सफल अवतरण गराउँदै इतिहास रचेको छ । यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ ।

चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो । चन्द्रयान-३ को विक्रम ल्यान्डर योजना अनुरुप नै भारतीय समयअनुसार बुधवार ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गरेको हो ।

४ जुलाईमा भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा श्रीहरिकोटाबाट उडान गरेको चन्द्रयान-३ चालीस दिन लामो यात्रा पूरा गर्दै चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेको हो ।

अवतरणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) को नियन्त्रण कक्षमा उपस्थित सबैलाई बधाई दिँदै त्यस क्षणलाई “अविश्मरणीय” र “अभूतपूर्व” बताएका छन् ।

चन्द्रयान-३ ले चन्द्रमाको सतह छोए लगत्तैदेखि भारतभर खुसीयाली मनाइएको छ । वैज्ञानिकहरूले अवतरणअघिको अन्तिम १५ मिनेट समयलाई निकै महत्त्वपूर्ण एवं त्रासपूर्ण बताएकाले उक्त अवधिलाई व्यग्रताका साथ संसारभरबाट हेरिएको थियो। गत सप्ताहान्तमा उस्तै लक्ष्य बोकेको रुसी अन्तरिक्षयान अवतरणका क्रममा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो ।

चन्द्रयान-३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन् ।

अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिरहरू पठाइरहेको छ। चन्द्रयान-३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ ।

यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर