नक्कली परीक्षार्थी बनेर ड्राईभिङ्ग थ्योरी टेस्ट दिने युवकलाई जेल सजाय

नक्कली परीक्षार्थी बनेर ड्राईभिङ्ग थ्योरी टेस्ट दिने युवकलाई जेल सजाय
नेपालआईज
४ चैत २०८१ ४:५२



एजेन्सी ।इङ्ग्ल्याण्डको लेस्टर निवासी २८ वर्षीय एरोन कुमारलाई अरूको सट्टामा सवारी चालक अनुमति पत्रको थ्योरी टेस्ट दिने आरोपमा जेल सजाय सुनाइएको छ।

नर्थह्याम्प्टन क्राउन कोर्टमा भएको पेशीका क्रममा कुमारले झुटा प्रतिनिधित्वद्वारा ठगी गरेको छवटा अभियोग स्वीकार गरेका थिए।

सन् २०२१ देखि २०२४ सम्म उनले कोरबी, नर्थह्याम्प्टन, डर्बी, ग्रान्थम, वुल्भरह्याम्प्टन र सटन कोल्डफिल्डका विभिन्न सवारी परीक्षण केन्द्रहरूमा अन्य व्यक्तिहरूको नाममा परीक्षा दिएका थिए। यसबापत उनले प्रत्येक ग्राहकबाट £२५० (थप खर्चबाहेक) लिने गरेका थिए।

सन् २०२४ को जनवरी १५ मा कोरबीस्थित ड्राइभिङ एन्ड भेहिकल स्टान्डर्ड्स एजेन्सी (DVSA) केन्द्रका कर्मचारीहरूले उनलाई शंकास्पद गतिविधिमा संलग्न रहेको देखेपछि प्रहरीलाई खबर गरे। प्रहरी आइपुग्दा उनी परीक्षा दिइरहेका थिए। प्रारम्भिक सोधपुछमा उनले आफ्नो वास्तविक नाम बताएको दाबी गरे पनि प्रहरीले थप अनुसन्धान गरेपछि उनले आफ्नो साँचो परिचय स्वीकारे।

त्यसपछि उनलाई तत्कालै पक्राउ गरी छवटा ठगी अभियोगमा मुद्दा दायर गरियो।मामला अनुसन्धान गर्ने प्रहरी अधिकारी ह्यारी कोरीले भने, “आर्थिक अपराध गरेर उम्कन सकिन्छ भन्ने सोच गलत हो। एरोन कुमारलाई जेल पठाइनु अन्य अपराधीहरूका लागि चेतावनीस्वरूप रहनेछ।”

उनले थपे, “सवारी चालक अनुमतिपत्र अधिकार नभई जिम्मेवारी हो। थ्योरी र प्राक्टिकल टेस्ट उत्तीर्ण गरेपछि मात्र लाइसेन्स पाउनुपर्छ। पैसा तिरेर परीक्षा छलेर लाइसेन्स लिने सोच लज्जास्पद हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर