Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अब बाँच्न चाहन्छु’, मेलबर्नमा क्यान्सर पीडित नेपाली विद्यार्थीको आँसु भिजेको अपिल !
भिक्टोरिया
२९ असार २०८२ ९:५८
मेलबर्न । अष्ट्रेलियाको व्यस्त सहर मेलबर्न ,जहाँ सयौँ विद्यार्थीहरू भविष्यको खोजीमा बाँचिरहेका हुन्छन्। तर यही सहरमा अहिले, एउटा कोठाको चार भित्ताबीच एक नेपाली युवक, कुनाल नारायण वैद्य, जीवनको गन्तव्य होइन, अष्टिन अस्पतालको बेडमा जीवनको अस्तित्व बचाउने संघर्षमा छन्।
सन् २०२४ को जुलाईमा कुनालको जीवनले एकदमै अप्रत्याशित मोड लियो, रक्त क्यान्सरको निदान भयो। त्यो दिनदेखि कुनालको जीवन पुस्तक होइन, अस्पतालको रिपोर्ट बन्छ। पाँच पटकको कठोर किमोथेरापी, अनगिन्ती बोन म्यारो बायोप्सी, अक्सिजन सपोर्ट र आइसियुको एक्लो सन्नाटा उनी दिनहुँ मृत्युको आँखामा आँखा जुधाइरहेका छन्।
“मैले सोचेको थिएँ, अष्ट्रेलियामा म पढ्नेछु, केही गर्छु। तर अहिले, म बाँच्ने छु कि छैन यही प्रश्नसँग बाँचिरहेको छु।” कुनालको आवाज भिजेको छ।
अब जुलाई १६, २०२५ मा हुन लागेको बोन म्यारो ट्रान्सप्लान्ट उनको जीवनको अन्तिम आशा हो। त्यो सफल भए पनि कुनाललाई कम्तीमा ६ देखि १२ महिना पूर्ण आराम चाहिन्छ। यस अवधिमा उनी पढ्न पनि सक्दैनन्, काम त झन टाढाको कुरा। अनि अर्को पीडा विद्यार्थी भिसा निलम्बनमा छ, जुन कायम राख्न ट्रान्सप्लान्टपछि स्वास्थ्य प्रतिवेदन बुझाउनुपर्ने कानुनी चपेटा पनि छ।
उनी हाल आफ्नी आमासँग बस्छन्, जो छोराको स्याहारका लागि नेपालबाट अष्ट्रेलिया आएकी हुन्। तर जीवन यति कठोर भइसकेको छ कि एक छाक खान, औषधि किन्न, भाडा तिर्नसमेत संघर्ष गर्नुपरेको छ।
“अब बाँच्ने चाहना छ, तर खर्चले गला थिचिरहेको छ” कुनालको शब्दहरू सुन्दा आँखामा आँसु नआई रहँदैन।
उनको उपचारको लागि झण्डै ४९ हजार डलर आवश्यक छ। हाल सहयोग संकलन अभियान सुरु गरिएको छ, जसबाट अस्पताल खर्च, भाडा, खाना र पछिल्लो जाँचको व्यवस्थापन गर्न सकिनेछ।